
काठमाडौं । मधेशका केही जिल्लामा भारी वर्षा भएको छ ।
बर्खाको समयमा लामो समयदेखि सुक्खाग्रस्त मधेशका केही ठाउँमा गत २४ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
लामो समय वर्षा नहुँदा मधेश सुक्खाग्रस्त बनेको थियो । सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । रोपाइँसमेत हुन नसकेको मधेशमा शुक्रबारदेखि भएको वर्षाले केही राहत भएको छ ।
आज बिहान गरिएको मापन अनुसार धनुषा जिल्लाको तुल्सी केन्द्रमा ६३.८ मिलिमिटर वर्षा भएको छ । धनुषाकै हर्दिनाथमा ५१ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै रौतहटको गौरमा ४४.६ र बाराको अमलेखगंजमा ४६.४ मिलिमिटर वर्षा भएको छ ।
२४ घण्टामा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई मौसम विज्ञानमा भारी वर्षा भएको मानिन्छ भने १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम वर्षा भएको मानिन्छ ।
मधेश प्रदेशका अन्य जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । सर्लाहीमा ३७।६, महोत्तरीको गौशाला स्टेशनमा ३२।४ मिलिमिटर वर्षा भएको छ । सिरहा र सप्तरीमा भने वर्षा कम भएको छ । यी क्षेत्रहरुमा राति वर्षा भएको थियो । बिहानदेखि भने रोकिएको छ ।
आइतबार पनि मधेशमा मध्यमदेखि भारी वर्षा हुने प्रक्षेपण गरिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतिर (नेपालतिर) सर्ने क्रममा रहेकाले थप वर्षा हुने सम्भावना रहेको मौसमविद्को पूर्वानुमान छ














