Skip

Hamro Sanchar

कागेश्वरी मनोहराको बजेट ३ अर्ब १५ करोड बढी, यी हुन् प्राथमिकताका क्षेत्रहरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १० गते


काठमाडौँ, असार १०- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक बर्ष २०८२/८३ को लागी कुल ३ अर्ब १५ करोड, ७५ लाख रुपियाँको बजेट प्रस्तुत गरेको छ । नगरसभाको बाह्रौं अधिबेशनमा उप-प्रमुख शान्ता थापाको तर्फबाट वडा नम्बर-१ का अध्यक्ष मकुन्द प्रसाद गजुरेलले उक्त बजेट प्रस्तुत गरेका हुन् ।

नगरपालिकाले अगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटको स्रोत मध्येसंघीय सरकारबाट प्राप्त हुने अनुदान (वित्तीय समानिकरण, सशर्त, समपुरक, बिशेष) ६२ करोड, ४३ लाख, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान ७ करोड, ३९ लाख १७ हजार, संघीय राजस्व बाँडफाँड (मुल्य अभिवृद्धि कर, अन्तशुल्क, आदि) १३ करोड, ७७ लाख, ८० हजार ९ सय ८३, प्रदेश सवारी साधन कर ७ करोड, ५ लाख ३२ हजार ७ सय ३७, घर जग्गा रजिस्ट्रेसन ९० करोड, ७५ लाख, विज्ञापन ५० लाख, वन रोयल्टी ५० लाख, नदीजन्य/खानी३ करोड, कबाडी निकासी कर १ करोड ५० लाख, आन्तरिक श्रोत (मालपोत, घरबहाल कर, ब्यबसाय कर, सिफारिस शुल्क, दस्तुर जरीवान, सेवा शुल्कको आदी) १ अर्ब २५ करोड, ८४ लाख ८४ हजार २ सय ८० र जनसहभागिता ३ करोड रहेको छ ।

नगरपालिकाले स्वास्थ्य शाखालाई १० करोड रकम छुट्टयाएको छ भने, मुलपानी नगर अस्पताललाई ६ करोड, ५०-५० लागत सहभागिता सिसिटिभी, सडक बत्ति १ करोड ५० लाख, युवा, खेलकुद पूर्वाधार एवं कार्यक्रमका लागि २ करोड, होम्स्टे कार्यक्रमका लागि ७५ लाख छुट्याइएको छ । शहरी सुरक्षा कार्यक्रम (सिसिटिभी र ट्राफिक लाइट) ७ करोड ५० लाख, शहरी सुरक्षा कार्यक्रम (सडक बत्ति) ४ करोड रकम छुट्याइएको छ ।

मंगलबार आयोजित बाह्रौं नगर अधिबेशनमा नगरप्रमुख उपेन्द्र कार्कीले नगरपालिकाको आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै नगरप्रमुख कार्कीले नगरपालिकाको इतिहास, संस्कृति, सम्पदा र सभ्यताको संरक्षण सम्बर्धन र प्रवर्द्धन गर्दै आधुनिक पूर्वाधार सहितको सुरक्षित, सु-ब्यबस्थित नगर निर्माण कार्य अघि बढाउदै शहरी सौन्दर्यकरण र शहरी सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा संचालन गरिने बताए । यस्तै स्वच्छ खानेपानीमा नगरबासीको पहुँच, दिगो र गुणस्तरीय विशेषज्ञ सहितको स्वास्थ्य सेवा, संस्कारयुक्त गुणस्तरीय शिक्षा, उद्यमशीलता विकास र खेलकुद पूर्वाधार विकास गरि खेलकुद नगरीको रुपमा नगरपालिकाको पहिचय र पहिचानलाई स्थापित गर्नु मुख्य प्राथमिकता हुने बताए ।

सामाजिक क्षेत्र, व्यवस्थित शहरी विकाससहितको भौतिक पूर्वाधार, स्वच्छ खानेपानी, नगर अस्पताललगायत स्वास्थ्य केन्द्रहरु र शहरी स्वास्थ्य केन्द्रको क्षमता विस्तार र सुधार, ज्येष्ठ नागरिकलाइ घरदैलोमा नि:शुल्क स्वास्थ्य उपचार सेवा, उपमेयरसँग महिला प्रजनन स्वास्थ्य सेवा कार्यक्रमलाई निरन्तरता, विद्यालय स्वास्थ्य कार्यक्रमलाइ प्राथमिकता दिएको रहेको जानकारी गराए ।

नगरपालिकाले दिगो र गुणस्तरीय पूर्वाधार विकास, सर्वसुलभ, रोजगारमुलक, संस्कारयुक्त र गुणस्तरीय शिक्षा, सर्वसुलभ र गुणस्तरीय विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा, दिर्घरोगी, जेष्ठ नागरिक, गर्भवती र प्रसुती भएका महिलाहरुलाई ‘डोर टु डोर’ निशुल्क एम्बुलेन्स सेवा, निशुल्क अक्सिजनको व्यवस्था, रोजगारमुलक सीप विकास एवम् उद्यमशिलता प्रवर्द्धन, कृषि क्षेत्रलाई आधुनिक बनाई उत्पादन अभिवृद्धि गर्दै आर्थिक विकास गरि गरिबी निवारण गर्ने, प्रशासनिक सुशासन कायम गर्दै सूचना प्रविधिमा आधारित सेवा प्रवाह र चुस्त एवम् दुरुस्त, खेलकुद पूर्वाधार विकास एवम् खेलाडी उत्पादन, विकास आयोजना छनोट तथा संचालन गर्दा जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढ्ने, स्थानीय श्रोत साधन र सिपको अधिकतम प्रयोग, महिला, दलित, अपांग, आदिबासी, जनजाती, अल्पसंख्यक र बालबालिकालाई प्रत्यक्ष लाभ पुग्ने, समावेसी र दिगो विकास, वातावरणीय संरक्षण तथा सम्बर्द्धन गर्न सघाउ पुर्याउने, भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिबृद्धिमा सघाउ पुर्याउने जस्ता क्षेत्रहरु प्राथमिकता राखेको छ ।

बजेटमा समावेश गरिएका नीति तथा कार्यक्रम कार्यन्वयनमा पारदर्शी, मितव्ययिता र जवाफदेहीता सुनिश्चित गरिने छ भने यसका लागि आवधिक रुपमा सार्वजनिक सुनुवाई र परिक्षण गरिनेछ । आयोजनाहरुको नियमित अनुगमन र मूल्यांकन गरिने, नागरिक समाज, निजी क्षेत्र र अन्य सरोकारवालाहरुसँगको सहकार्यलाई निरन्तरता दिइने, कर्मचारीको क्षमता अभिबृद्धि र उत्प्रेरणमा बिशेष ध्यान दिइने र वित्तीय सुशासन कायम गर्दै बेरुजु फर्छ्यौटलाई उच्च प्राथमिकता दिइने छ ।

कार्यक्रममा नीति तथा कार्यक्रम र बजेटबारे वडाअध्यक्ष र नगरसभाका सदस्यहरुले आ-आफ्नो सुझाव र जिज्ञासा राखेका थिए ।

कार्यक्रममा उठेका जिज्ञासालाई सम्बोधन गर्दै नगरप्रमुख कार्कीले आगामी १७ गते नगर सभा समापन गर्ने बताए ।


प्रतिकृया दिनुहोस्