Skip

Hamro Sanchar

कोसी प्रदेशमा अति भारी वर्षा, सतर्क रहन आग्रह

बाढीले सडक बगाउँदा कोसी राजमार्ग अवरुद्ध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १७ गते


काठमाडौं । कोसी प्रदेशका विभिन्न भूभागमा भारी वर्षा भएकाले केही नदी तथा खोलामा बाढीको सम्भावना रहेको छ।

पछिल्लो १२ घण्टामा कोसी प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा भएको छ । पानी पार्ने प्रणाली उत्तरतिर सरिरहेको र थप पानी पर्नसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

पछिल्लो १२ घण्टामा कोसी प्रदेशको झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा भारी वर्षा मापन भएको छ ।

ती क्षेत्र भएर बहने कन्काई नदी, बिरिङ खोला, केसलिया खोलालगायतमा सतर्कता तहभन्दा माथिको बाढी मापन भएको छ । नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ

मौसमविद् डेबिड ढकालका अनुसार कोसीसँगै मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यसैबिच कोसी प्रदेशको पहाडी क्षेत्रहरुमा भइरहेको अविरल वर्षासँगै आएको बाढीले सडक बगाउँदा कोसी राजमार्ग अवरुद्ध भएको छ ।

लेउती खोलामा आएको बाढीले सडक बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । निमित्त प्रवक्ता प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठका अनुसार धनकुटाकै साँगुरीगढी गाउँपालिका–६ फेदीनजिकै करिब १०० मिटर कालोपत्रे सडक लेउतीको बाढीले बगाएको छ ‌। उक्त क्षेत्रमा यातायात अवरुद्ध बनेको छ ।

सोही राजमार्गको धनकुटा सांगुरिगढी–६ नमस्ते झरना आसपास रुख लडेर सडक अवरुद्ध भएको थियो । तर, अहिले हटाइएको प्रहरीले बताएको छ ।

तमोर करिडोको छरुवा खोलमामा बाढी आउँदा धनकुटाको चौबिसे गाउँपालिका– ४ स्थित सडक खण्ड पनि अवरुद्ध बनेको छ ।


प्रतिकृया दिनुहोस्