
काठमाडौं । शिक्षक महासंघले सरकारसँग सहमति गरी आन्दोलन स्थगित गर्ने निर्णयमा कर्मचारी परिषद्ले असहमति जनाएको छ।
परिषद्ले बिहीबार विज्ञप्ती जारी गरी शिक्षक महासंघर र सरकारबीच भएको सहमति र आन्दोलन स्थगित गर्ने निर्णयमा असहमति जनाएको हो।
नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद, राष्ट्रिय समितिको पूर्णरूपमा असहमति रहेको ब्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषदको संस्थागत धारणा बाहेकको सहमतिको घोर भर्त्सना गर्दछौं,विज्ञप्तीमा भनिएको छ।
साथै थप कार्यक्रम समीक्षा बैठक पश्चात सार्वजनिक गरिने पनि परिषदले जानकारी गराएको छ।
परिषद्का अध्यक्ष गंगाराम तिवारीले जुन उद्धेश्यका साथ आन्दोलन गरिएको थियो त्यो पूरा नभई आन्दोलन स्थगित गरिएका कारण आफूहरूको असहमति रहेको बताएका छन्।
ऐन लिएर मात्रै जान्छौं भनिएको थियो। अहिले असार १५ को समय दिएर छाडियो। त्यो मितिसम्म ऐन जारी हुन्छ भन्ने आधार नभई आन्दोलन स्थगित गरियो। यसमा हाम्रो असहमति छ,उनले भने। त्यस्तै सरकारसँग भएको सहमतिमा विद्यालय कर्मचारीको विषयलाई ठोस रूपमा सम्बोधन पनि नगरिएको उनले बताए।
०८२र०८३ को बजेटबाट २८ हजार ८२ रूपैयाँ विद्यालय सहायक कर्मचारीले पाउने र विद्यालय सहायक लेखापाललले ३४ हजार ९०२ पाउने भन्ने लिखित दस्ताबेज बनाएर पठाएका थियौं। सरकारसँगको सहमतिमा त्यो बुँदा नै छैन तोकिएबमोजिम गर्ने भनिएको छ, उनले भने।
परिषद् कसरी अगाडि बढ्ने विषयमा छलफल भइरहेको उनले बताए ।



















