
काठमाडौं, चैत २०- कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले सहकारी संस्थाहरुले बचतको न्युनतम ५ प्रतिशत उद्यमशीलताका क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् ।
६८औं सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कार्कीले ‘एक सहकारी न्युनतम एक उद्यमशीलता’को नीतिअनुसार एक सहकारीले बचतको पाँच प्रतिशत रकम खर्च गर्नुपर्ने बताए ।
नगरपालिकामा ७० वटा सहकारी संस्थाले दर्ता गराएको तथ्यांक छ । भने प्रदेश अन्तर्गतका २२ वटा सहकारी रहेका छन् । एक सहकारीले उद्यमशीलताका क्षेत्रमा न्युनतम ५ प्रतिशत लगानी गरे २० करोड हुने हुनाले यस्ता सहकारी संस्थाहरुको विकास मार्फत यस क्षेत्रका साना, सीमान्तकृत कृषकहरुको रोजगारी, आय आर्जन एवम् आर्थिक सामाजिक रुपान्तरणमा सहयोगी हुनुपर्ने उनको भनाइ थियो ।
नगरपालिकाले व्यावसायिक किसानलाई ऋणको ब्याजमा अनुदान दिने गरेको पनि उनले जानकारी दिए । यसो हुँदाहुँदै पनि सहकारी संस्थाहरु पैसा रोपेर पैसा फलाउन मात्र लागि परेकोले सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताए । उद्यमशीलताका क्षेत्रमा केहि सहकारीले कार्य सुरु गरेको र फलदायी भएको उदाहरण दिँदै प्रमुख कार्कीले नीति र नियमअनुसार नचल्ने नगरभित्र संचालित सहकारीलाई अब टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए ।
सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि टेवा पुर्याएको भएपनि सहकारीले उद्यमशीलताका क्षेत्रमा लगानी गर्नुपर्ने औंल्याए ।
न्यूनआय स्तर भएका मानिसहरुको जीवन स्तर उकास्नको लागि सहकारीहरुको दायित्व भएपनि सहकारीलाई घेराभित्र राखेर सिमित व्यक्तिमा मात्र लगानी गर्नाले जनस्तरमा राम्रो सेवा दिन नसकेको भन्दै प्रमुख कार्कीले चिन्ता ब्यक्त गरे ।
नगरपालिका उद्यमशीलता तथा क्षमता विकासको लागि तालिम दिन र अभिभावकीय भूमिका निर्वाह गर्न नगरपालिका तयार रहेको बताए ।
नगरपालिकाले यसअघि नगरलाई सिताके च्याउ हव बनाउने लक्ष्यसहित च्याउ उत्पादन तथा प्रवर्धन सम्बन्धि ६० जनाभन्दा बढी महिला तथा पुरुषलाई तालिम प्रदान गरेको छ । नगरप्रमुख कार्कीले सिताके च्याउको माग अत्यधिक रहेको र बजारको माग धान्न सक्ने गरि उत्पादन गर्न सके रोजगारीसँगै आर्थिक उपार्जनमा टेवा पुग्ने बताए ।
नगरपालिकाको सहकारी शाखाले बुधबार नगरपालिकाको सभाहलमा ६८औं सहकारी दिवस मनाएको छ । नगर उप-प्रमुख शान्ताको अध्यक्षता र नगरप्रमुख कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारी बचतको महत्वको बारेमा ४० मिनेटको लघु चलचित्र प्रस्तुत गरिएको थियो । उक्त चलचित्रमा हास्यकलाकार सिपी पुडासैनी ‘धतुरे’, ‘काजी बा’लगायतका कलाकारहरुले अभिनय गरेका थिए ।
शाखा प्रमुख बिश्वास ज्ञावालीद्धारा संचालित कार्यक्रममा सहकारी अनुगमन समितिका सदस्य गया प्रसाद उपाध्यायले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, सहकारी अभियन्ता तथा सहकारी संचालकहरुको उपस्थिति रहेको थियो ।