Hamro Sanchar

एकीकृत समाजवादीले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, ३० गते


काठमाडौं । नेकपा एकीकृत समाजवादीले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।

महासचिव घनश्याम भूसालले पहिलो चरणमा पार्टीले गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

पहिरो चरणको पहिलो कार्यक्रमका रुपमा आज पत्रकार सम्मेलन गरिएको छ ।

दुई महिनासम्म चल्ने आन्दोलनका कार्यक्रम २५ वैशाखमा सकिनेछ । ‘यो आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड–घटाउबाट मुक्त गर्न थालिएको आन्दोलन हो, बेरोजगारी र कुशासनको विरुद्ध एउटा क्रान्तिकारी पहलकदमी हो’ भूसालको वक्तव्यमा भनिएको छ, ‘र रष्ट्रिय पूँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरूका बीच सहकार्य र एकताको अभियान हो ।’

सार्वजनिक आन्दोलनका कार्यक्रम अन्तर्गत २–६ चैतसम्म मातहतका कमिटीहरूमा छलफल, ७–१५ चैतसम्म केन्द्रीय तहमा विभिन्न संघसंगठन तथा व्यक्तिहरूसँग सुझाव संकलन, २० चैतमा सरकारलाई ज्ञापनपत्र बुझाउने र चैतमसान्तभित्र प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद हुनेछ।

५ वैशाखमा प्रदेश र जिल्ला प्रशासन मार्फत ज्ञापनपत्र बुझाउने, १५ वैशाखसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद गर्ने, १९-२२ वैशाख पालिका र वडा कार्यालयहरूमा ज्ञापनपत्र बुझाउने र २५ वैशाखमा दोस्रो चरणको आन्दोलन घोषणा गरिने भूसालले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस्