
काठमाडौँ । संवैधानिक पदाधिकारी नियुक्तिको रिट हेर्दाहेर्दैमा राखिएको छ ।
आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा सुनुवाइ भएको थियो ।
बुधवारको सुनुवाइमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, डा भीमार्जुन आचार्य, मोहना अन्सारी, चन्द्रकान्त ज्ञवाली, राजुप्रसाद चापागाईँलगायतले बहस गरेका थिए । बुधवारको सुनुवाइपछि संवैधानिक इजलासले अर्को पेसी चैत ६ गतेका लागि तोकेको छ ।
ओली नेतृत्वको सरकारले २०७७ र २०७८ मा अध्यादेशमार्फत १३ संवैधानिक निकायका कुल ६१ पदमध्ये रिक्त ५२ संवैधानिक पदाधिकारी नियुक्त गरेको थियो । अध्यादेशमार्फत गरेका ती नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल, कीर्तिनाथ शर्मा, सुलभ खरेल, समृत खरेल, निशान्तबाबु खड्का, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले १५ वटा रिट दायर गरेका थिए ।
गत माघ ३० गतेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासमा ती रिटमाथि सुनुवाइ सुरु भएको थियो । सो दिन अधिवक्ता ओमप्रकाश अर्यालले बहस गरेका थिए ।
त्यसपछि वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बहस सुरु गरेकोमा बहस गर्दागर्दै समय सकिएपछि अर्को पेसी फागुन २१ गतेका लागि तोकिएको थियो ।
सुनुवाइमा निवेदकका तर्फबाट २४ कानुन व्यवसायी र सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालसहित १० जनाले बहस गर्नेछन् ।