Skip

Hamro Sanchar

केपी ओली जाली झेली, बेइमानी छन् : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, २९ गते


सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले ल्याएको अध्यादेश पास हुन सक्ने स्थितिमा नरहेको बताएका छन् ।

उनले सरकारले सदनलाई अवमूल्यन गरेर ल्याएको अध्यादेश नै गलत रहेको बताए ।

मङ्गलवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘सरकारले अहिले जसरी सदनलाई अवमुल्यन गरेर अध्यादेश ल्यायो त्यो गलत थियो । यसलाई अस्वीकार गरेका छौँ तर पारित हुन सक्ने स्थिति पनि छैन।’

दुई तिहाइको अहङ्कारलाई राष्ट्रिय सभाले धक्का दिएको उल्लेख गर्दै उनले बहुमतले पेलेर जान सक्ने अवस्थामा सरकार नरहेको बताए ।

उनले माओवादीले कुनै पनि हालतमा अध्यादेश पास गर्न सघाउने नसक्ने उल्लेख गर्दै प्रचण्डले जसपाको निर्णयमा अध्यादेशको भविष्य रहेको पनि बताए । सरकार जसपाले गर्ने निर्णयमा भर पर्ने हुँदा गाह्रो रहेको उनको भनाइ थियो ।

उनले गिरीबन्धुको विषयलाई आफूले सदनदेखि सबैतिर उठाइएको स्मरण गर्दे अहिले परेको मुद्दालाई अदालतले गम्भीर रूपमा लिने पनि विश्वास व्यक्त गरे ।

यस्तै प्रचण्डले माओवादीको ध्यान अहिले सरकारतिर नरहेको बताउँदै भने, ‘जति चलोस् चलोस् हामीलाई टेन्सन छैन। तर यो सरकार अपारदर्शी र भ्रष्टाचारीलाई बचाउनका लागि बनेको हो । यो भ्रष्टहरूको सरकार हो । उनीहरूले गलत गरे हेरेर त बस्दैनौँ ।’

उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली जाली झेली, बेइमानी भएको समेत बताए ।


प्रतिकृया दिनुहोस्