Skip

Hamro Sanchar

श्रीमतीको हत्या गरेर गाडेको आरोपमा श्रीमान पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ११ गते


Advertisement

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका ३ हरिपुरका एक पुरुषले मदिरा खाएर श्रीमतीको हत्या गरेर लुकाएको अवस्थामा शव भेटिएको छ।

स्थानीय दशैया मुखियाले अन्दाजी ४५ वर्षीया श्रीमती रेशमी देवी बिनको हत्या गरिएको अवस्थामा शव भेटिएको हो। प्रहरीका अनुसार मुखियाले श्रीमती रेशमीको हत्या गरी शौचालयको पछाडि गाडेका थिए।

बुधवार राति मुखियाले बुहारीसँग खाना मागेका थिए। उनको बोली र हर्कत शङ्कास्पद लागेपछि उनकै बुहारीले प्रहरीलाई बोलाइन्।

प्रहरीले मुखियालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा श्रीमतीलाई मारेको र शव गाडेको बयान दिएका छन्।

उनको बयानको आधारमा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको टोलीले राति नै शव उत्खनन गरेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको छ।

ईप्रका सखुवा महेन्द्रनगरका इन्स्पेक्टर सोनु साहले घरायसी विवादपछि मुखियाले मदिरा खाएर श्रीमतीको हत्या गरेको जानकारी दिए। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रतिकृया दिनुहोस्