काठमाडौं, मंसिर १७- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ ले आफ्नै भवनबाट सेवा दिन थालेको छ । वडा कार्यालयले आइतबारदेखि आफ्नै भवनबाट सेवा सुचारु गरेको हो ।
भाडामा लिएर सेवा दिँदै आएको वडा कार्यालयले नगरपालिका नयाँ भवनमा स्थानान्तरण हुन थालेसँगै आफ्नै भवनमा सरेको हो । यसअघि वडा कार्यालयको भवनमा नगरपालिका संचालन हुँदै आएको थियो । नगरपालिकाको प्रशासकीय भवन तयार हुँदै गर्दा नगरपालिकाका शाखाहरु धमाधम नयाँ भवनमा सर्दै आएका छन् ।
नगरपालिकाको थलीस्थित कान्तिभैरव माध्यामिक विद्यालयको ७ रोपनी जग्गामा कुल ८९ हजार ३०५ वर्गफिटको प्रशासकीय भवन निर्माणको अन्तिम चरणमा छ । बेसमेन्ट सहित ७ तल्लाको भवन झन्डै ५२ करोड लगानीमा तयार भएको बताइएको छ ।
केहि दिनमै नगरपालिकाले औपचारिक रुपमा नयाँ भवनबाट सम्पूर्ण सेवाहरु दिने बताइएको छ ।