Hamro Sanchar

कागेश्वरी मनोहरामा लैंगिक हिंसाविरुद्ध प्रभातफेरीसँगै भब्य कार्यक्रम

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, १३ गते


Advertisement

काठमाडौं, मंसिर १३- कागेश्वरी मनोहरा नगरपालिकामा ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बुधबार बिहान प्रभातफेरीसँगै एक कार्यक्रमको आयोजना गरिएको छ । प्रहरी वृत नयाँबानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काँडाघारी, सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा कोटेश्वर-३२ काठमाडौं महानगरपालिका वडा नम्बर-३२, कागेश्वरी मनोहराका वडा नम्बर-७/८ र ९ तथा गान्धी आदर्श माविको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक किरण बज्रचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरपालिकाकी उप-प्रमुख शान्ता थापा र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख नवराज अधिकारीको बिशेष आतिथ्यता रहेको थियो भने विभिन्न प्रहरी अधिकारी, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, ४ वटै वडाका सामाजिक संघ-संस्थाहरु, सुरक्षाकर्मीहरु, मिडिया, पत्रकार तथा बिभिन्न संघ संस्था, नगर समाज, महिला समुह, जीवन बिज्ञान, युवा क्लब, टोल सुधार समाजका व्यक्तिहरु झन्डै १२ सय जनाको सहभागिता रहेको थियो ।

नगरपालिकाको विरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरीले बजार क्षेत्रको परिक्रमा गरेको थियो भने का.म.पा-३२ को प्रभातफेरी गान्धी मोडमा मिसिदै गान्धी आदर्श माविमा कोणसभामा परिणत भएको थियो ।

सहभागीहरूले ‘घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ, सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान, बलात्कार हत्या हिंसा अन्त्य गरौँ, हिंसामुक्त सभ्य समाज निर्माण गरौँ’ लगायत नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित बजार परिक्रमा गरेका हुन् ।

प्रभातफेरी पश्चात आयोजित सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि बज्रचार्यले घरेलु हिंसाका सबैभन्दा बढी बलात्कार, यौनहिंसा, बालबिबाह, बोक्सी प्रथा, छाउपडी जातीय छुवाछुत तथा विभेद गरि आर्थिक बर्ष २०८०/८१ मा १९ प्रकारका २० हजार ९ सय ५४ वटा उजुरी परेका जानकारी दिइन् । उनकाअनुसार तीमध्ये ४ हजार पाँच सयभन्दा बढी मात्र उजुरी दर्ता भएका छन् ।

लैङ्गिक हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा उनले जोड दिइन् । घटना घटेपछि त्यसको विरुद्धमा बोल्ने र घटना बाहिर ल्याउनुपर्नेमा उनले जोड पनि दिइन् । त्यसो हुँदा घटना पिडितले न्याय पाउने र हिंसा कम हुनेमा विश्वास व्यक्त गरिन् ।

यस्तै कार्यक्रममा बिशेष अतिथि नगर उप-प्रमुख थापाले लैङ्गिक हिंसा दिवसको रुपमा मात्र नमनाएर अभियानको रुपमा मनाउनु पर्नेमा जोड दिइन् । नगरपालिकाको न्यायिक समिति सभापति पनि भएको नाताले हिंसाका घटना कस्ता आउछन् र समाज कति दर्दनाक अवस्थामा रहेको छ भन्ने पूर्ण जानकारी आफुलाई भएको पनि बताइन् । साथै उनले समाज बदल्न र हिंसा कम गर्न आफुले आफ्नै घरबाट सुरु गर्नुपर्नेमा जोड दिइन् ।

सामुदायिक सेवा तथा विकास समाज एवं सामुदायिक सेवा केन्द्र कोटेश्वरका अध्यक्ष रविन्द्र थापाको सभाध्यक्षमा सम्पन्न कार्यक्रमलाई महासचिव पदम कुमार रेग्मीले संचालन गरेका थिए ।

कार्यक्रममा गान्धी आदर्श मावि विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गया प्रसाद उपाध्यायले स्वागत मन्तब्य दिएका थिए भने प्रहरी जवानहरुले सचेतनामुलक नाटक र नृत्य प्रस्तुत गरेका थिए ।

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा विभिन्न कार्यक्रमहरु गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाउने गरिएको छ ।


प्रतिकृया दिनुहोस्