
काठमाडौं, असार ७- गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लागेका सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापासँग विशेष अदालतले धरौटी मागको आदेश गरेको छ ।
विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले थापासँग तीन लाख रुपैयाँ धरौटी माग गरेको विशेषका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
थापामाथि गत २८ चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच करोड ३३ लाख रुपैयाँभन्दा बढी बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो । उनले उल्लिखित रकमबराबरको सम्पत्तिको वैध स्रोत खुलाउन नसकेपछि उनीमाथि मुद्दा दायर भएको हो ।
थापा मेयरमा निर्वाचित भएको मितिदेखि उनले उक्त रकम अवैध रूपमा आर्जन गरेको अख्तियारको दाबी छ । ०७४ को असोजदेखि ०७९ माघसम्म सार्वजनिक सेवामा रहँदा थापाले उक्त रकम भ्रष्टाचारबाट आर्जित गरेको दाबी अभियोगपत्रमा छ ।
मेयर थापाका साथै यस मुद्दामा जफत प्रयोजनका लागि श्रीमती रेश्मीकुमारी घिमिरे थापा, भाइ रामकुमार थापा र भाइबुहारी द्वारिका राउतलाई प्रतिवादी बनाइएको छ ।
मेयरविरुद्ध गत २९ जेठमा भ्रष्टाचारको अर्को मुद्दासमेत दायर भएको छ । उनीसमेतले भरत ताल निर्माणका क्रममा ३० करोडभन्दा बढी रकम अनियमितता गरेको भन्दै मुद्दा दर्ता भएको थियो ।

















