
काठमाडौं, जेठ २७- त्रिशुली नदीमा बेपत्ता भएका एक किशोरको शव फेला परेको छ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेशी बस्ने १५ वर्षीय युनिक सुवेदीको आइतबार दिउँसो सवा १ बजे शव फेला परेको हो ।
शनिबार अपराह्न ४ बजे सुवेदी र १३ वर्षीय रिदम रोइला बेपत्ता भएका थिए ।
प्रहरीकाअनुसार नदी किनारमा उनीहरूको कपडा भेटिएको थियो । त्यो कपडा फेला परेको करिब १०/१५ मिटरनजिक करिब २० फिट गहिराइमा शव फेला परेको हो ।
दुई बालक बेपत्ता भएको भन्दै गएराति साढे ११ बजे सशस्त्र प्रहरीलाई खबर भएको थियो ।
त्यसपछि सशस्त्र प्रहरीको नेपाल विपद् व्यवस्थापन बेश आदमघाटबाट डिएसपी मदनकुमार रसाइलीको कमाण्डमा ७ जनाको टोली खटिएको थियो ।
अर्को बालकको खोजी जारी छ।

















