Hamro Sanchar

परिवर्तनको लाभ तल्लो तहका जनतासम्म पुर्‍याउन प्रयासरत छु : प्रधानमन्त्री

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १५ गते


Advertisement

काठमाडौं, जेठ १५- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएको बताएका छन् ।

गणतन्त्र दिवस २०८१ का अवसरमा शुभकामना दिँदै उनले समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको जनाएका छन् । गणतन्त्र अरूका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग गर्ने जीवन पद्धति पनि भएको उनको सन्देशमा उल्लेख छ ।

गणतन्त्रको उपलब्धिका रूपमा जनताका प्रतिनिधिले संविधानसभाबाट निर्माण गरेको नेपालको संविधानबमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा रहेको उनले बताएका छन् । उनले यो व्यवस्थाले नेपालको संविधानबमोजिम समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माणका लागि दिशानिर्देश गरेको तर्क गरेका छन् ।

प्रधानमन्त्री दाहालले राजनीतिक परिवर्तनको लाभ तल्लो तहका जनतासम्म पुर्‍याउन सरकारले नीतिगत, कानुनी तथा संरचनागत व्यवस्थामा समयानुकूल परिमार्जन गरी कार्यसम्पादन गरिरहेको दाबी गरेका छन् ।

विभिन्न समयमा भएका राजनीतिक आन्दोलन, जनयुद्ध, २०६२/६३ को ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलनसहितका आन्दोलन तथा सङ्घर्षका शहीदको स्मरण गर्दै प्रधानमन्त्रीले उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।


प्रतिकृया दिनुहोस्