Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुकुम्वासीलाई हेप्ने, तर्साउने र थर्काउने काम नगर्न ओलीको चेतावनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २० गते


Advertisement

काठमाडौं, वैशाख २०- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासी बस्ती भत्काउने काम नगर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन् ।

सुकुम्वासीलाई आवास व्यवस्थापन गर्न अध्यक्ष ओलीले महानगरलाई सुझाव दिए ।

सुकुम्वासी बस्ती भत्काउने अभियान नभई व्यवस्थापन अभियान सुरू गरिनुपर्ने ओलीको भनाइ छ ।

उनले सुकुम्वासी समस्या समाधान गर्न तीनै तहका सरकारले जोड दिनुपर्ने बताए ।

‘सुकुम्वासी बस्ती हटाउने होइन त्यसको व्यवस्थापन गर्नुपर्छ,’ भूमि अधिकार तथा श्रमिक संगठन नेपालले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘जहासुकै जाउ, जेसुकै गर, खाए खाउ, नखाए मर भन्ने सरकार हुँदैन ।’

सुकुम्वासीका प्लाष्टिक हालेका छाप्रा रहेको र त्यो पनि भत्काउन डोजर लगिने गरेको उनको भनाइ छ ।

‘सुकुम्वासीका प्लाष्टिकका छाप्रा भत्काउन डोजर जानुपर्छ ? कर्कला फाँड्न बञ्चरो लिएर जाने ? सुकुम्वासीको समस्या समाधान गर्नुपर्‍यो,’ उनले भने, ‘डोजर देखाउने होइन सुकुम्वासीलाई । गरिबकै छाप्रा भत्काउन नलगाऔं। व्यवस्थापन गरौं ।’

नगरपालिकासँग पैसा छ भने सुकुम्वासी बस्तीको एउटा छेउमा घर बनाउन सकिने पनि उनले बताए । उनकाअनुसार काठमाडौं उपत्यकाभित्र ४८ सय सुकुम्वासी परिवार छन् ।

उनले सुकुम्वासीमाथि ज्यादती भयो भने उनीहरू प्रतिरोधमा उत्रने पनि बताए ।

‘त्यसकारण ज्यादती सुकुम्वासीमाथि नगरौं। कहीँ हेप्ने मानिस भेटिएन अनि सुकुम्वासीलाई हेप्ने ? थर्काउने, तर्साउने कहीँ भेटिएन अनि छाप्रामा गएर सुकुम्वासीको लालाबाला तर्साएर कुन बहादुर हुन्छ ?,’ उनले भने ।

(न्युज एजेन्सी नेपाल)


प्रतिकृया दिनुहोस्