Hamro Sanchar

ओली प्रधानमन्त्री हुँदा दुर्गालाई दिइएको थियो हतियार राख्ने इजाजत, प्रजिअलाई कारबाही सिफारिस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १९ गते


Advertisement

काठमाडौँ, बैशाख १९- नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा झापाका मेडिकल व्यवशायी दूर्गा प्रसाईलाई हतियार राख्ने इजाजत दिइएको खुलासा भएको छ । छानबिन समितिले ‘इजाजत दिन नमिल्ने’ हतियार दिएको भन्दै तत्कालिन प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कारवाहीको सिफारिस गरिएको छ ।

अवकाशप्राप्त कर्मचारी रहेका दाहाललाई कारवाहीको सिफारिस गरेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

सर्वोच्च अदालत परिसरबाट २०८० चैत ५गते दुर्गा प्रसाईंका सुरक्षा गार्डबाट बरामद गरिएको हतियार ‘इजाजत दिन नमिल्ने’ प्रकृतिको रहेको निकर्ष निकाल्दै छानबिन समितिले तत्कालिन सिडियो दाहाललाई कारवाहीको सिफारिस गरेको हो ।

सहसचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाउँदै सो हतियार ‘इजाजत दिन मिल्ने खालको नदेखिएको’ ठहर गरेको थियो । ‘सर्वोच्च अदालत परिसरमा फेला परेको हतियार कानुनले तोके अनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको र इजाजत दिने निर्णयमा समेत देशभर लैजान पाउने गरी इजाजत नदिइएको पाइएको छ,’ समितिको प्रतिवेदनमा भनिएको छ ।

छानबिन समितिमा कानुन महाशाखाका उपसचिव ऋषि पौडेल र प्रहरी उपरीक्षक सन्तोष भट्टराई सदस्य र उपसचिव एकदेव अधिकारी सदस्य–सचिव थिए । प्रसाईंले जिल्ला प्रशासन कार्यालय झापाबाट २०७५ असार २१ मा हतियारको इजाजतपत्र लिएका हुन् । उनले लिएको हतियारको इजाजतपत्र (लाईसेन्स) नम्बर १०१३१ हो । झापाका तत्कालीन प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बुद्धशान्ती–३ झापा घर भएका दीपक खड्कालाई बाहक तोकेर प्रसाईको नाममा हतियार इजाजतपत्र दिएका थिए । खड्का दुर्गा प्रसाईंका व्यक्तिगत सुरक्षा गार्ड हुन् ।

मोडल नम्बर ५ र सिरियल नम्बर ए–३५४७५२ नम्बरको २२ बोर बन्दुको इजाजतपत्र लिएका प्रसाईंका सुरक्षा गार्डको साथबाट प्रहरीले जर्मन स्पोर्ट गन ‘जिएसजी–५’ र १ सय राउण्ड गोली बरामद गरेको थियो ।


प्रतिकृया दिनुहोस्