काठमाडौं, बैशाख १८- इलाम क्षेत्र नम्बर-२ का नवनिर्वाचित प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङले आफूले इमान्दार र निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मंगलबार इलाममा आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उनले इलामेली जनताको शिर झुक्न नदिने गरी इमानदार र निष्ठापूर्वक जनताको सेवा गर्ने बताएका हुन् ।
नवनिर्वाचित सांसद नेम्वाङले आफ्नो बुबाले देखाउनुभएको बाटो र उज्यालोलाई समाएर आम मतदाताको एक एक मतको मूल्याङ्कन हुने गरी काम गर्ने उल्लेख गरे ।
त्यस अवसरमा उनले आफूलाई विश्वास गरेर मत दिएको भन्दै आम मतदाताप्रति आभार पनि व्यक्त गरेका थिए । नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खडकालाई ५ हजार ८३० मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।
संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको सो क्षेत्रमा एमालेले उनका कनिष्ठ सुपुत्र सुहाङलाई उम्मेदवार बनाएको थियो ।