काठमाडौँ, वैशाख १०- मेरिकी स्थायी आवासीय अनुमतिपत्र (पीआर) वाहक भएकै बेला गलत विवरण पेस गरी सार्वजनिक पद धारण गरेको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
विदेशी पीआरधारीले सार्वजनिक पद धारण गर्न नहुने कानुनविपरीत पौडेल कार्यकारी निर्देशक बनेको भन्दै अख्तिरुपयोग अनुसन्धान आयोगले आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । केन्द्रमा २ पटक कार्यकारी निर्देशकमा नियुक्ति पाउँदा पौडेलले स्वःघोषणा गरी कुनै पनि देशको स्थायी आवासीय अनुमतिपत्र नलिएको विवरण पेस गरेका थिए ।
तर, अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनसहित एक दर्जन जति मुद्दाको अनुसन्धान गर्ने क्रममा पौडेल अमेरिकाको पीआर वाहक रहेको खुलेको हो । सुरक्षण मुद्रणका लागि उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा पौडेलसहित नौ जनाविरुद्ध २०८० वैशाख ३ मा नै मुद्दा दायर भएको थियो ।
मुद्दा दायर हुँदा पौडेल केन्द्रकै कार्यकारी निर्देशकको दोस्रो कार्यकालमा थिए । उक्त मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ । जसको किनारा नलाग्दै गैरकानुनी सम्पत्ति आर्जनसहित करिब १ दर्जन कसुरमा अख्तियारले उनलाई गत माघ १० मा पक्राउ गरेको थियो । उनी अहिले अख्तियारकै हिरासतमा छन् ।
त्यही क्रममा आइतबार पौडेलले गलत विवरण पेस गरी सार्वजनिक नियुक्ति खाएको अभियोगमा अख्तियारले छुट्टै मुद्दा दायर गरेको हो । उनीविरुद्ध केन्द्रबाट भएका ठेक्कापट्टामा कमिसनलगायतबाट आर्जित गैरकानुनी सम्पत्तिसहितको कसुरमा छिट्टै मुद्दा दायर गर्ने तयारी छ । पौडेल २०७९ जेठ १३ मा दोस्रो पटक केन्द्रको कार्यकारी निर्देशक बनेका थिए ।
त्यसबेला पनि उनले पीआर नभएको विवरण स्वःघोषणामार्फत् पेस गरेका थिए । अख्तियारले यो कसुरमा ६ महिनादेखि १ वर्षसम्म कैद र १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना सजायको मागदाबी लिएको छ ।