काठमाडौं, वैशाख ९- नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ ।
मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएका र राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार हिरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्न लागेको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताए ।
ललितपुरको गोदावरीमा चलिरहेको एमालेको राष्ट्रिय प्रतिनिधि परिषदको बैठकमा भण्डारीलाई सम्मान गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसमा प्रतिनिधिहरुले सहमति जनाएका हुन् ।
‘पार्टीका पूर्वउपाध्यक्ष र दुई दुई पटक गणतन्त्र नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएको व्यक्ति, राष्ट्रपति पदमा निर्वाचित भएर पनि अत्यन्त चुनौतीपूर्ण अवस्थामा उहाँले महत्वपूर्ण ढंगले भूमिका खेल्नुभएको, अडान लिनुभएको र हामी सबैको एउटा गौरवको विषय बन्नुभएको, आदरणीय विद्यादेवी भण्डारीलाई हामीले राष्ट्रिय गौरव पदकले सम्मान गर्ने प्रस्ताव यो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकबाट अघि बढाउँ’, पोखरेलले बैठकमा प्रस्ताव प्रस्तुत गर्दै भनेका थिए ।
नेकपा एमालेले सोमवार पार्टी स्थापनाको ७५ औं वर्षगाँठ मनाउँदैछ ।