Hamro Sanchar

मुख्यमन्त्री जम्कट्टेलले पाए तेस्रो पटक विश्वासको मत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १९ गते


Advertisement

हेटौंडा, चैत १९- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् ।

सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे । उनलाई आफ्नो दल माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना सांसदले विश्वासको मत दिएका हुन् ।

नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले विपक्षमा मतदान गरेको छ भने राप्रपा तटस्थ रहेको छ ।

२५ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले सोमबार तेस्रो पटक विश्वासको मत लिएका हुन् । पहिलो पटक ३ माघ २०७९ मा विश्वासको मत लिंदा उनलाई प्रदेशसभाका ६ दलको समर्थन थियो । उनले ११० मध्ये १०५ जना सांसदको समर्थन पाएका थिए । त्यतिबेला उनलाई नेपाल मजदुर किसान पार्टीका ३ जना सांसदले मत दिएका थिएनन् भने एक जना अनुपस्थित थिए ।

तर नेकपा एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि उनले दोस्रो पटक १० चैत २०७९ मा विश्वासको मत लिएका थिए ।

त्यतिबेला उनलाई प्रदेशसभाका ६७ जनाले समर्थन गरेका थिए । मुख्यमन्त्री जम्कट्टेललाई उनको दल माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले मत दिएको थियो । विपक्षमा नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले मत दिएका थिए ।


प्रतिकृया दिनुहोस्