
काठमाडौं, चैत ४- उप्रेती समाजसेवा समितिले नवनियुक्त रक्षामन्त्री हरि उप्रेतीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । शनिबार बत्तिसपुतलीस्थित एक होटलमा बिशेष कार्यक्रमको आयोजना गरि रक्षामन्त्री उप्रेतीलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रम गरेको हो ।
समितिका पुर्व उपाध्यक्षसमेत रहेका रक्षामन्त्री उप्रेतीलाई संस्थाका अध्यक्ष शोभित उप्रेती, बिशेष अतिथि नेपालका लागि हंगकंगका बाणिज्य दुत पिके जोनलगायत संस्थाका वंशज सदस्यहरुले सम्मानपत्रसहित दोसल्ला ओडाएर सम्मान तथा बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री उप्रेतीले अब आफुहरुलाई विकास र परिवर्तन नगर्ने छुट नभएको बताए । उनले आफुले नराम्रो गरे घृणाको पात्र सबै उप्रेती समुदाय र नेपाली जनता हुने भन्दै कुनैपनि हालतमा नराम्रो नगर्ने बताए । उनले भने, ‘देश बनाउछु भने लाग्ने हो भने १० बर्षभित्र समृद्ध नेपाल बनाउन सकिन्छ । कागज थुपारेर पोके सिस्टमबाट देश बन्दै । मुलुक प्रबिधिले सम्पन्न बनाउने हो । प्रबिधि भित्र्याउन सके भ्रष्टाचार पनि न्यून हुन्छ । अब विकास र परिवर्तन नगर्ने छुट हामीलाई छैन । मुलुक समृद्ध बनोस् र जनताका आधारभूत आवश्यकता पुरा होस् भनेर राजनीतिमा लागेको हुँ । तर त्यो पुरा नहुँदा मन पिरोलिन्छ ।’
उनले उप्रेती समाजसेवा समितिलाई आफुलाई निरन्तर सुझाव दिन अनुरोध गर्दै अबका दिनमा गरिब, दुखि र पिडितको सेवा साथै सामाजिक सेवाका कार्यमा पनि सक्रिय हुन अनुरोध गरेका थिए ।
कार्यक्रमका बिशेष अतिथि हंगकंगका बाणिज्य दुत जोनले हिजो र आजको नेपालमा खासै परिवर्तन नदेखिएको बताए । नेपालमा प्रबिधि भित्र्याउन सकेको खण्डमा छोटो समयमै परिवर्तन सम्भव हुने उनको भनाई छ ।
कार्यक्रममा अध्यक्ष शोभित उप्रेतीले नवनियुक्त मन्त्री उप्रेतीलाई बधाई दिँदै देश जनताका पक्षमा शिर उच्च हुनेगरि काम गर्न सुझाव दिए । उनले आफ्नो कार्यकालमा सामाजिक कार्यलाई पनि निरन्तरता दिएको र संस्थाको आफ्नै भवन निर्माणका कार्य अघि बढाएको जानकारी दिए । उनकाअनुसार भवन निर्माणका लागि १ करोड संकलन भएको छ ।





















