काठमाडौं, मङ्सिर ८- कुवेतको आदान अस्पतालमा १६ महिनादेखि उपचार गराइरहेकी प्यूठानकी तुलसा जिसीलाई स्वदेश फर्काइएको छ ।
१६ महिनादेखि जीवन र मृत्युको दोसाँधमा अस्पतालको शैय्यामा अचेत अवस्थामा उपचार गराइरहेकी तुलसालाई कुवेतस्थित नेपाली राजदूतावासले उद्धार गरेर स्वदेश फर्काएको हो ।
झिमरुक गाउँपालिका-५ ओखरपुर प्युठान घर भएकी तुलसालाई स्वदेश फर्काउन राजदूतावासले लामो समयको पहल गरेको थियो । राजदूतावासको अथक प्रयासमा पार्वती भुजेल नाम गरेकी नेपाली साथमा उद्धार गरेर स्वदेश फर्काउन सफल भएको राजदूतावासका प्रथम सचिव प्रेम गौतमले हाम्रोसंचारलाई जानकारी दिए ।
उनलाई गत कात्तिक २२ गते कुवेत एयरवेजको उडानमार्फत स्वदेश पठाइएको हो ।
बिगत २ बर्षको भिसा समाप्त भए पश्चात् अबैधानिक बन्न पुगेकी तुलसालाई राजदूतावासले उद्धारको पहल गरेको हो ।
उद्धार पश्चात् तुलसाको काठमाडौंको वीर अस्पताल हुँदै हाल काभ्रेको बनेपास्थित थेरापी सेन्टरमा उपचार भैरहेको छोरी सीता जिसीले जानकारी दिइन् ।
घरेलु कामदारको रुपमा करिब ४ बर्ष पहिले कुवेत पुगेकी उनी एक्कासी हराएकी थिइन् । बेखबर बनेकी तुलसाको खोजबिन गरी स्वदेश फर्काइदिन अनुरोध गर्दै भन्दै नेपालबाट परिवारले राजदूतावासमा पत्र पठाएको थियो । खोजी गर्दै जाँदा उनी अस्पतालको वेडमा भेटिएकी हुन् ।
छोरी सीताकाअनुसार तुलसा एक्कासी ढलेर बेहोस् भएकी थिइन् । त्यसपश्चात् उनलाई अस्पताल पुर्याएर मस्तिष्कको अप्रेसन गरिएको थियो । तुलसाको स्वास्थ्यमा अझै सुधार हुन सकेको छैन । अहिले उनलाई प्यारालाइसिस भएको छ भने शरीरको एक भाग चल्दैन । उनि बोल्न सक्दिनन् तर इसारा भने बुझ्ने सम्म भएकी छोरी सीताको भनाइ छ ।
आमाको उपचारमा आर्थिक अभाब भएपछि सीता विभिन्न सामाजिक संघ-संस्था र सरकार सामु सहयोगको लागि धाइरहेकी छन् ।
यसअघि पनि ३२ महिनादेखि अस्पतालमा उपचार गराइरहेकी चितवनकी आशा परियारलाई कुवेतबाट नेपाल फर्काइएको थियो । परियार २१ महिने अवैध छोरीलाई लिएर व्हिलचियरमा स्वदेश फर्किएकी हुन् ।
यो पनि पढ्नुहोस्- कुवेतमा साढे २ बर्षदेखि उपचार गराईरहेकी आशालाई अवैध छोरीसहित नेपाल फर्काइयो