काठमाडौँ, कात्तिक २५- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र पार्टी प्रवक्ता प्रकाण्ड जाजरकोटको भूकम्प प्रभावित बस्ती नलगाडको चिउरी बस्तीबाट पार्टीको भूकम्प पुनर्निर्माण अभियानको उद्घाटन गरेका छन् ।
भूकम्पमा घर भत्केका एकल परिवार कले विकको घर पुनर्निर्माण गरी अभियानको उद्घाटन गरेको पार्टी निकट जनपत्रकार सङ्गठन नेपालका अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए ।
पार्टी द्वारा सङ्कलित राहत सामग्री शुक्रबार जाजरकोट सदरमुकाममा जिल्ला विपत् व्यवस्थापन समितिलाई हस्तान्तरण गरी राति अबेर नलगाड पुगेका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले स्थानीय जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्ताहरू सँगको छलफल पछि शनिबार बिहान नलगाड आसपासका भूकम्प पीडितहरू छलफल गरेका थिए ।
भूकम्पले पीडित भएका जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्पपीडितको राहत तथा उद्धारका लागि नेकपाका झन्डै डेढ सय नेता कार्यकर्ता नियमित राहत वितरण, उद्धार, स्वास्थ्य उपचार तथा आधारभूत अस्थायी संरचना बनाउन लागिरहेका छन् ।
विप्लव र प्रकाण्ड आइतबार रुकुमका प्रभावित बस्ती जाने कार्यक्रम रहेको छ ।