Hamro Sanchar

पूर्वाधार विकास परियोजनाहरु सुरक्षित र प्रकोपमैत्री बनाउन आवश्यक छ: गृहमन्त्री श्रेष्ठ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, २६ गते


Advertisement

काठमाडौं, असोज २६- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो लगानी रहेका पूर्वाधार विकास परियोजनाहरु सुरक्षित र प्रकोपमैत्री बनाउन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बाजुरा भूकम्प, २०७२ सालको गोरखा भूकम्प, मेलम्ची विपद्, जुरे पहिरोलगायत पश्चिमी बाढी पहिरोबाट हुने गरेका क्षतिले विपद् व्यवस्थापनको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको कुरालाई प्रष्ट पारिरहेको बताए ।

उनले पहिरो र बाढी जस्ता प्रत्यक्ष रुपमा भौगर्भिक बनावट तथा संरचनासँग सम्बन्धित प्रकोपहरुको सामना गर्नका लागि भूगर्भ र यो सम्बन्धित प्रकोपहरुकै बारेमा अध्ययन गरिरहेका अध्येताहरु देशका लागि आवश्यक रहेको बताए । उनले भने, ‘पहिरो र बाढी जस्ता प्रत्यक्ष रुपमा भौगर्भिक बनावट तथा संरचनासँग सम्बन्धित प्रकोपहरुको सामना गर्नका लागि भूगर्भ र यो सम्बन्धित प्रकोपहरुकै बारेमा विज्ञता हासिल गरेका तपाईहरुको देशका लागि ठूलो आवश्यकता छ ।

गत साताकै बाजुरा भूकम्प, २०७२ सालको गोरखा भूकम्प, मेलम्ची विपद्, जुरे पहिरो लगायत पश्चिमी बाढी पहिरोबाट हुने गरेका क्षतिले विपद् व्यवस्थापनको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको कुरालाई प्रष्ट पारिरहेको छ । साथै ठूलो लगानी रहेका पूर्वाधार विकास र परियोजनाहरुमा सुरक्षित र प्रकोपमैत्री बनाउनु पनि उत्तिकै जरुरी भइसकेको छ ।

नेपाल सरकार यो तथ्यलाई मनन गर्दै आवश्यक स्थानमा तपाईहरुको प्रतिनिधित्व गराउन, तपाईहरुको ज्ञान र सान्दर्भिक कुराको कार्यान्वयन गर्न र आवश्यक नीति बनाउन सदैव तत्पर रहनेछ ।’उपप्रधानमन्त्री श्रेष्ठले विपद् व्यवस्थापन र न्यूनीकरणका लागि आवश्यक नीति बनाउन सरकार तयार रहेको बताए ।


प्रतिकृया दिनुहोस्