काठमाडौं, साउन ३– अर्थमन्त्री डा.प्रकाशशरण महतले जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय बैठक नेपालका लागि उपलव्धीमुलक रहेको बताएका छन् ।
भारतको गुजरातमा सम्पन्न उक्त बैठक सम्पन्न गरि बुधबार स्वदेश फर्किएका अर्थमन्त्री महतले त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै मुलुकको दिगो बिकासमा अन्तराष्ट्रिय सहयोगको दायरा बढाउने, मूल्यवृद्धिबाट जनमानसमा परेका समस्या र असरबाट मुक्त गर्ने तथा जलवायु लगाएतका तमाम विषयमा नेपालका तर्फबाट धारणा राख्ने अवसर प्राप्त भएको बताएका हुन् ।
उनले जी–२० मुलुकले पनि संसारभरी नै आर्थिक बृद्धिदर कम भइरहेको अवस्थामा आर्थिक सीमा बढाउने लगाएतका बिषयमा पनि गम्भीर छलफल भएको जानकारी दिए । उनले बैठकका साथै भारत र चीनका अर्थमन्त्रीसंग पनि छलफल भएको र दुईपक्षीय सम्बन्ध तथा अन्य महत्वपूर्ण बिषयमा छलफल भएको बताए ।
अर्थमन्त्री महतले भारतको गुजरात चेम्बर अफ कमर्सको कार्यक्रममा पनि भारतीय व्यवसायीहरुलाई लगानी गर्नका लागि आह्वान गरिएको पनि जानकारी दिए । नेपाल जी–२० मुलुकको सदस्य नरहेपनि अतिथि सदस्यका रुपमा अर्थमन्त्री महतले बैठकमा सहभागिता जनाएका थिए ।