काठमाडौं, असार १३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले तामाङ र नेवारी संग्रालय निर्माण गर्ने नीति लिएको छ । आइतबार आयोजित आठौं अधिबेशनमा नगरप्रमुख उपेन्द्र कार्कीले तामाङ होमस्टे तथा संग्राहालयको निर्माण गर्ने, नेवारी भाषा, साहित्य, संस्कृति झल्काउने संग्रालय निर्माण नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख उपेन्द्र कार्कीले तामाङ र नेवारहरूको संस्कृति, भेषभुषा, बाजागाजा लोप हुने अवस्था रहेकोले पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणका लागि संग्रहालय निर्माण गर्ने बताए ।
नयाँ पुस्ताले पुराना कुरा भुल्दै जाने सम्भावना देखिएकाले जातीय पहिचान तथा संस्कृति संरक्षणका लागि संग्रहालय उपयुक्त हुने बताइएको छ ।
संग्राहालयमा परम्परागत जातीय भेषभुषा, रीतिरिवाज झल्कने सामग्री, परम्परागत पेसा, धर्मसंस्कृतिसँग जोडिएका बाजागाजा, भाँडाकुँडा लगायतका सामग्री हुने बताइएको छ । आधुनिकतासँगै परम्परागत सामग्री हराउँदै गएकाले त्यसको संरक्षणका लागि संग्रहालय बनाउन लागिएको हो । यसले पर्यटन समेत प्रवद्र्धन हुने नगरपालिकाको विश्वास छ ।
यस्तै जनजातिहरुको भाषा, लिपि र संस्कृतिको जगेर्ना गर्दै आदिवासी, जनजाती हकहित संरक्षण र प्रवर्द्धनमा जोड दिइने नीति तथा कार्यक्रममा समावेश भएको छ । भने दलित समुदाय लक्षित सिप विकास, उद्धमशिलता विकास सम्बन्धी कार्यक्रम संचालन गरिने छ । नगरपालिकाभित्र दलित समुदायले परम्परागत रुपमा गर्दै आइरहेको पेशाको निरन्तरता, आधुनिकीकरण एवम् स्वरोजगार मुलक तथा सिपमुलक कार्यक्रमको लागि आवश्यक पहल गर्ने नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को लागी कुल २ अर्ब ३८ करोड ६५ लाख ८० हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ ।