Hamro Sanchar

प्रेस काउन्सिल अध्यक्ष बस्नेतविरूद्ध पत्रकारले दिइन् प्रहरी र मन्त्रालयमा उजुरी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, २२ गते


काठमाडौं, जेठ २२- प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफूलाई टर्चर दिएको भन्दै एक जना महिला पत्रकारले उजुरी दिएकी छन्।

काठमाडौंबाट सञ्चालित एक अनलाइनमा कार्यरत ती पत्रकारले फेसबुक म्यासेन्जरबाट मध्यरातमा कल र म्यासेज गरी साइबर अपराध गरेको भन्दै बस्नेतविरूद्ध प्रहरीको साइबर ब्युरोमा गत शुक्रबार उजुरी दिएकी हुन्।

उक्त उजुरीपछि बस्नेतले आफ्ना परिवार र कार्यरत स‌स्थाका प्रमुखलाई फोन गरी उजुरी फिर्ता लिन दबाब दिएको भन्‍दै आइतबार उनले फेरि सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा निवेदन दिएकी हुन्।

मन्त्रालयमा दिएको निवेदनमा बस्नेतका क्रियाकलापबाट आफू असुरक्षित भएको उल्लेख गर्दै सुरक्षा माग गरेकी छन्।

साइबर ब्युरोमा दिएको उजुरीमा भनिएको छ, ‘बालकृष्ण बस्नेत नामक फेसबुक आइडीले जेठ १५ गते मध्यराति मेसेन्जरमार्फत भेट गर्ने प्रस्ताव राख्ने, अडिओ कल गर्ने, साथै पटकपटक एसएमएस गरी रातको समयमा टर्चरसमेत गर्ने गरेकाले सो व्यक्तिलाई कारबाही गरी पाउँ।’

बस्नेतलाई साइबर अपराधअन्तर्गत कारबाही गर्नुपर्ने उनले माग गरेकी छन्।

साइबर ब्युरोका प्रवक्ता एसपी पशुपतिकुमार रायका अनुसार उजुरीमाथि अनुसन्धान भइरहेको छ।


प्रतिकृया दिनुहोस्