महोत्तरी, बैशाख ३०- महोत्तरीको गौशाला नगरपालिका-१ रामनगरको बानटोल निवासी १६ वर्षीय अविनास पासमान दलित भएकै कारण कुटिएका छन्। आफ्नै वडामा सुरतन यादवको आमाको श्राद्धमा यादव र महतोको लाइनमा बसेर भोज खाएको निहुँमा पासमान कुटिएका हुन्।
स्थानीय ४० वर्षीय रामविनेक यादवले कुटपिट गरेका भन्दै पीडितले प्रहरीमा निवेदन दिएका छन्। टेन्टको काम गर्न मजदुरको रुपमा सुरतन यादवको घरमा खटिएका अविनासलाई भोक लागेपछि अन्य जातिको लाइनमा बसेर खाना खाएको झोंकमा गत वैशाख २६ गते रामविनेक यादवले कुटपिट गरेका हुन्।
अविनासले वैशाख २७ गते नै ईलाका प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरीले २९ गते रामविनेक यादवलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलिपकुमार गिरीले घटनाको अनुसन्धान हुने बताए। उनले तत्काल निवेदनको आधारमा आरोपीलाई पक्राउ गरिएपनि जाहेरीसमेत आउनुपर्ने बताए।
राम विनेकले करिव एक वर्ष पहिले अविनासकी आमालाई समेत चौतारामा बसिरहेको अवस्थामा कुटपिट गरेका थिए। त्यसबेला ईलाका प्रहरी कार्यालय गौशालामा छलफल हुँदा उनलाई उपचार खर्च पाँच हजार दिएर आरोपीले उन्मुक्ति पाएका थिए।