
काठमाडौं । बेवारिसे भेटिएको ग्रिनेड (बम) घर लगेर खेलाउँदा पड्किएर पोखरा–३३ ठुलढुंगामा २ जना किशोर घाइते भएका छन् । १५ वर्षका माइकल पौडेल र १३ वर्षीय सविन तामाङ घाइते भएका हुन् ।
माया पौडेल मंगलबार काम गर्न सेती किनार गएकी थिइन् । श्रीमान् मिलनसँगै उनी किनारमा काम गर्दै थिइन् । अकस्मात् मायालाई छिमेकीको फोन आयो– ‘छोराको हातभरि रगत आएको छ, छिटो घर आउनुस् ।’दम्पती घर पुग्दा छोरा माइकल र उनका साथीलाई नजिकैको मेडिकल हल लगिएको थियो ।
ग्याल्पो ल्होसारको बिदाको दिन माइकल र सविन खेल्न घरपारिको सेनाको प्रशिक्षण केन्द्र नजिक पुगेका थिए । ‘पहिला त्यहाँ फायरिङ हुन्थ्यो, अहिले फायरिङ हुन छाडेको धेरै दिन भएपछि त्यहाँ घुम्न गएका थियौं,’ माइकलले भने । त्यहाँ उनीहरूले बेवारिसे ग्रिनेड भेट्टाए । ‘गाडा हरियो रङको फलाम झुन्डेको थियो, युज भइसकेजस्तो लागेर घर लग्यौं,’ माइकलले भने । कोठाको चुकुल लगाएर दुवै ग्रिनेड खेलाउन थाले । सविनले काँटीले ग्रिनेडलाई कोपेपछि फुस्स गरेको माइकल बताउँछन् ।
पड्किन लागेको भेउ पाएपछि माइकलले ग्रिनेडलाई बाहिर फाल्न लाग्दा हातमै पड्कियो । ‘फुस्स गरेपछि पड्किन लाग्यो भन्ने लागेर फाल्न खोजेको पड्किहाल्यो,’ माइकलले भने । ग्रिनेड पड्कँदा माइकलको हात र सविनको हात, खुट्टामा चोट लागेको छ । उनीहरूलाई उपचारार्थ गण्डकी अस्पतालमा उपचारका लागि लगिएको छ । उक्त ग्रिनेड कसरी त्यहाँ पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ग्रिनेड भेटिएको ठाउँ नजिकै सेनाको प्रशिक्षण स्थल छ ।

















