काठमाडौं । नेपाल मजदुर किसान पार्टीले प्रतिपक्षमा आफूहरुको दाबी कुनै सुविधाका लागि नभएको बताएको छ । सो पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले संघीय संसदमा प्रमुख प्रतिपक्षी दलको दाबी सरकारी सुविधाका लागि नभएको बताएका हुन् ।
उनले पार्टीले लेनदेनको नभई सिद्धान्तको आधारमा चल्ने बताए । ४९औं पार्टी स्थापना दिवसको अवसरमा आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । नेपालमा विद्यमान संविधान र ऐन कानुन अनुसार नेमकिपालाई नै प्रमुख प्रतिपक्षी दल घोषणा गर्नुपर्ने पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालले जिकिर गरेका छन् ।
कार्यक्रममा ७० वर्ष उमेर नाघिसकेका ११ जना कार्यकर्तालाई सम्मान गरिएको थियो ।