Hamro Sanchar

प्रतिनिधिसभाको पहिलो बैठक सुरु, यस्तो छ कार्यसूची

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २५ गते


Advertisement

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । मंसिर ४ गतेको निर्वाचनपछि सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बसेको हो । बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले संसद आह्वानसम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् ।

राष्ट्रपति भण्डारीले पठाएको पत्र पढेर सुनाउँदै उनले भने, “नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संवत २०७९ साल पुस २५ गते सोमबारको दिन १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।” त्यसैगरी उनले राष्ट्रपति कार्यालयको प्रधानमन्त्री नियुक्ती र मन्त्रिपरिषद गठनबारे संसदलाई जानकारी गराएको पत्र पनि पढेर सुनाएका छन् ।

नवनिर्वाचित प्रतिनिधिसभामा १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको छ । सबै दलका संसदीय दलका नेताहरुले दलीय प्रतिनिधित्वको आधारमा सम्बोधन गर्ने कार्यसूचि रहेको छ ।

एमालेसहितका राजनीतिक दलहरुको समर्थनमा प्रतिनिधिसभामा तेस्रो ठूलो दलको रुपमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । पुस ११ गते ८ सदस्यीय मन्त्रिपरिषद गठन भएको थियो । प्रधानमन्त्री दाहालले भालि मंगलबार संसदमा विश्वासको मत लिनेछन् ।

प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने प्रमुख प्रतिपक्षको रुपमा रहेको छ । प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा नेपाली कांग्रेसले दाबी गरेपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले एमालेलगायतका दलहरुसँग गठबन्धन गरी आफ्नो नेतृत्वमा सरकार गठन गरेका थिए ।


प्रतिकृया दिनुहोस्