काठमाडौं, पुस १८- नाबालिगमाथी बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने डिप्रेसनको समस्या देखिएको छ । बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले सोमबार केन्द्रीय कारागारमा गएर लामिछानेलाई मनोपरामर्श दिएको बताइएको छ ।
१५/२० दिनयता उनको बोली व्यवहारमा फरक भएकाले बरिष्ठ मनोपरामर्शविदलाई लगेर केन्द्रीय कारागार पुगेको लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए । परामर्शपछि उनले सन्दीपको डिप्रेसन लेभल बढेको बताए ।
लामिछानेमा नकारात्मक सोचाइ बढेको लगायतका समस्या देखिएको उनले बताए ।
सन्दीपमाथि १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ । उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएपछि उनी सुन्धारास्थित केन्द्रीय कारागारमा छन् ।
गत मंगलबार काठमाडौं जिल्ला अदालतले पीडित किशोरीको उमेरसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको थियो ।
लामिछानेले १८ वर्षमुनिकी किशोरीमाथि बलात्कार गरेको आरोप भए पनि सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन् ।
उमेरसम्बन्धी विवाद भएपछि जिल्ला अदालतको इजलासले उनको जन्मसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको थियो ।
सन्दीपले १७ वर्षीया नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्याएर दुई पटक बलात्कार गरेको आरोप छ ।
प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ ।
उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।