काठमाडौं, पुस १८- आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाई गरेसँगै ई-सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रुपमा बन्द गरेको छ ।
ई-सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाइ गरेकाले आन्तरिक रेमिट्यान्स कारोबार पुस १७ देखि लागू हुनेगरी पूर्णरुपमा बन्द गरेको बताएको हो ।
रेमिट्यान्स कम्पनीको मुख्य काम देशबाहिरबाट विदेशी मुद्रा स्वदेश भित्र्याउन (इनवार्ड रेमिट) रहेको भन्दै आन्तरिक रेमिट्यान्सलाई बन्द गरी विदेशी रेमिट्यान्समा वृद्धि गर्ने उद्देश्य ई-सेवा मनी ट्रान्सफरको रहेको जनाएको छ ।
कम्पनीले आन्तरिक रेमिट्यान्स कारोबारलाई नियामक निकायले कडाइ गर्दै गएको, डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्नुपरेको लगायत कारण आइतबारदेखि आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रुपमा बन्द गरेको ई-सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले बताए ।
उनले कम्पनीको सम्पूर्ण ध्यान विदेशबाट स्वदेशमा रेमिट्यान्समार्फत विदेशी मुद्रा भित्र्याउन उपयोग गर्न आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपले बन्द गर्ने बोर्डले निर्णय गरेको बताए ।
उनले मुलुकको समग्र रेमिट्यान्समा वार्षिक रुपमा १० प्रतिशत मात्रै वृद्धि हुने गरेको बताए । उनले विदेशी रेमिट्यान्स वृद्धि गर्न आन्तरिक रेमिट्यान्सले ठूलो योगदान गर्न नसकेको पनि बताए । पछिल्ला महिनामा राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स कारोबारमा कडाई गर्दै आएको छ । सोही क्रममा ०७८ फागुनमा आन्तरिक रेमिट्यान्सको कारोबार सीमा (मुलुकको एक स्थानबाट अर्को स्थानमा रेमिट्यान्स कम्पनी तथा उसका सब-एजेन्टमार्फत गरिने आन्तरिक रेमिट्यान्स स्थानान्तरण) घटाइएको थियो । त्यसयता प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाउने व्यवस्था छ ।