Hamro Sanchar

अनाधिकृत बस्ती हटाउने काठमाडौं महानगरको कदमकाे नेवार समुदायको समर्थन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ९ गते


काठमाडौं, पुस ९- काठमाडौं महानगरपालिका भित्रका अनाधिकृत बस्ती हटाउने महानगरपालिकाको प्रयासलाई उपत्यकाका नेवार समुदायहरुले समर्थन गरेका छन् ।

शनिबार काठमाडौं उपत्यकाका नेवार समुदायहरुले पत्रकार सम्मेलन गर्दै यसकाे बारेमा जानकारी गराएका हुन् । उनीहरुले काठमाडौंका विभिन्न नदी किनारमा घर, टहरा बनाइ बसोवास गर्दै आइरहेका अनाधिकृत बस्ती हटाउन महानगरपालिकाले गरेको प्रयास र त्यसका विरुद्ध गरेको प्रतिरोधका घटनाहरुप्रति काठमाडौंका स्ववासीहरुको समर्थन रहेको बताएका छन् । उनीहरुले काठमाडौं महानगरपालिकालाई समस्यामुक्त बनाउन महानगरले चालेको अनाधिकृत बस्ती हटाउने कुरामा स्ववासीहरुको पूर्ण समर्थन रहेको बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेवाः जातीय महासंघका अध्यक्ष मनोज खड्गीले काठमाडौं महानगरपालिकाका धेरै ठाउँमा सुकुम्वासी र स्वावासीहरु अनाधिकृत रुपमा बसोवास गरिरहेकाले सबैलाई काठमाडौंको जग्गा वितरण गर्न नसकिने भन्दै थातथलो भएकै स्थानमा व्यवस्थापन गर्नुपर्ने बताए । उनले अहिलेको अवस्थालाई हेरेर केही मानिसको व्यवस्थापन गर्न लागेको खण्डमा भविष्यमा अतिक्रमण गरेर आउनेलाई व्यवस्थापन गर्न कठिनाइ हुने बताए ।

उनले सुकुम्वासीको नाममा जग्गा लिने र १० वर्षपछि बेचेर फेरी सुकुम्वासी हुँ भन्दै हिँड्ने उदाहरण देखिसकेको भन्दै अनाधिकृत रुपमा बस्ने मानिसहरुलाई उनीहरुकै थातथलोमा व्यवस्थापन हुनुपर्ने बताए । उनले महानगरले चालेको कदम सही भएको भन्दै नैतिक रुपमा समर्थन गरेको बताए ।

काठमाडौंका स्ववासीहरुले अनाधिकृत बस्तीमा बसोवास गर्ने मानिसहरुलाई राज्यले थातथलो रहेकै जिल्लामा व्यवस्था गरिदिनुपर्ने बताएका छन् ।


प्रतिकृया दिनुहोस्