काठमाडौं । प्रतिनिधि सभातर्फ स्याङ्जा २ मा कांग्रेस उपसभापति धनराज गुरुङसँग पराजित एमाले सचिव पद्माकुमारी अर्यालले चुनावमा बुथ कब्जा भएको भए पनि अब गुनासो नगर्ने बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेतृ अर्यालले चुनावमा केही बुथ कब्जा भएको एथेष्ट प्रमाण भएकाले पुनः मतदानको माग गरिएको बताइन् ।
उनले विजयी भएका गुरुङलाई बधाई दिँदै लेखेकी छन् ‘मैले तपाईँलाई शालीन एवम् लोकतन्त्र माथि विश्वास गर्ने एउटा नेताको रुपमा बुझेको थिएँ । चुनावको दिन चापकोटको केही बुथमा भएका निर्मम दृश्यले तपाईँप्रतिको मेरो बुझाइ झुटो प्रमाणित गरिदियो ।’
यद्यपि कब्जा गरिएको मतबाट गुरुङ निर्वाचित भएको भन्दै अर्यालले उक्त मतलाई नस्वीकार्ने बताएकी छन् । उनले सबै कुरा भुलेर स्याङ्जाको विकासमा सहकार्य गर्न आफू प्रतिबद्ध रहेको पनि उल्लेख गरेकी छन् ।
मंसिर ४ को निर्वाचनमा बुथ कब्जा भएको प्रमाण भएको, मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरिएको अर्यालको जिकीर छ । त्यही मुद्दा उठाउँदै अर्यालले पुनः मतदानको माग गरेकी थिइन् । तर निर्वाचन आयोगले पुनः मतदानको माग अस्वीकार गर्दै मतगणना जारी राख्न निर्देशन दिएको थियो । शनिबार रातिको अन्तिम मत परिणाम अनुसार गुरुङ अर्यालभन्दा ५ हजार बढी मत अन्तरले निर्वाचित भएका छन् ।