Hamro Sanchar

निर्वाचन : आजसम्म ७ दल राष्ट्रिय पार्टी बने, साढे ४ प्रतिशत मत बदर

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, १६ गते


Advertisement

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म प्रतिनिधि सभाको १६५ मध्ये १६२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । स्याङजा, दोलखा र बाजुराको मत गणना जारी छ ।

समानुपातिक तर्फपनि झन्डै १ करोड ७ लाख मत गनिसकिएको निर्वाचन आयोगले जनाएको छ । गनिएको समानुपातिक मतमध्ये झन्डै साढे ४ लाख मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार अब सबैतिरको गरेर साढे २ लाख हाराहारी मत गणना गर्न बाँकी छ ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार स्याङजा, दोलखा, बाजुराको प्रत्यक्ष तर्फसहित उदयपुर, धनुषा लगायत केही जिल्लाको समानुपातिक मत गणना भइरहेको छ ।

निर्वाचन आयोगकाअनुसार शुक्रबार बिहानसम्म समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याउने नेकपा एमाले छ । एमालेले अहिलेसम्म समानुपातिकमा २७ लाख ७३ हजार ९९९ मत पाउँदा दोस्रोमा नेपाली कांग्रेसले २६ लाख ४४ हजार २४१ मत पाएको छ ।

त्यसैगरी माओवादी केन्द्रले ११ लाख ६१ हजार २५६ तथा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९९६ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ९२१ मत पाएर पाँचौ स्थान बनाएको छ । हालसम्म जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९३१ र जनमत पार्टीले ३ लाख ९४ हजार ३४५ मत ल्याएर सातौं पार्टी बनेको छ ।

कुनैपनि पार्टीले राष्ट्रिय पार्टी बन्न कम्तिमा ३ प्रतिशत मत कटाउनुपर्छ । यो हिसाबमा अहिलेसम्म ३ प्रतिशत मत ल्याएर थ्रेसहोल्ड कटाउने र राष्ट्रिय पार्टी बन्नेमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र जनमत गरी सात पार्टी रहेका छन् ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी भने थ्रेसहोल्ड कटाउने प्रयासमा छ । यो पार्टीले आशुक्रबार बिहानसम्म २ लाख ९४ हजार ६३ मत पाएको छ । उसलाई थ्रेसहोल्ड कटाउन अझै २० हजारको हाराहारीमा मत चाहिने देखिन्छ ।


प्रतिकृया दिनुहोस्