काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफू मिलेर शान्ति सम्झौता नगरेको भए अझै धेरै मानिसको ज्यान जान सक्ने स्मरण गराएका छन् ।
लमजुङमा आज सोमबार आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सत्ता गठबन्धनका कार्यकर्तालाई सम्बोधनका क्रममा उनले लगातार प्रतिगमनमा लैजाने एमालेको निर्णयलाई परास्त गर्न गठबन्धन बनेको दाबी गरेका छन् ।
प्रचण्डले भने ‘नेपालको आधुनिक इतिहासमा १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता एक नयाँ अध्याय हो । हामीलाई भनिन्छ झण्डै १७ हजारको ज्यान गयो, ठूलो पीडा भयो । त्यो पीडाबाट निस्किन हामीले सम्झौता गरेका हौँ ।’ उनले त्यसबेला कांग्रेस र माओवादी आमनेसामने भएर युद्ध भएको बताउँदै भिडन्त गरेकै पक्षबीचमा शान्ति सम्झौता गरेको पनि उल्लेख गरेका छन् ।
साथै अध्यक्ष प्रचण्डले गिरिजाप्रसाद कोइराला परिवर्तन र गणतन्त्रका नायक भएको बताएका छन् । ‘मलाई पनि अहिले पार्टीका साथीहरुले सर्वमान्य र नायकका रुपमा लिन्छन् उनले भने, कांग्रेस र माओवादीका हजारौँ कार्यकर्ताको साहदत नभएको भए यो सम्झौता हुने थिएन ।’ उनले गिरिजाप्रसादलाई शान्ति नायकको उपमा दिइरहँदा आफूलाई क्रान्ति नायकका रुपमा प्रस्तुत गरेका छन् । अध्यक्ष प्रचण्डले अब पनि कांग्रेस कार्यकर्ताले माओवादीको चिह्नमा र माओवादीका कार्यकर्ताले कांग्रेसलाई भोट दिन अफ्ठेरो मान्न नहुने तर्क गरेका छन् ।
साथै उनले अहिलेको गठबन्धनलाई २० वर्षसम्म निरन्तर लगिने बताएका छन् । कतिपयले चुनावपछि गठबन्धन के हुन्छ नयाँ बन्छ कि भन्ने अनुमान गरिरहेको उल्लेख गर्दै प्रचण्डले कम्तिमा १५-२० वर्षसम्म यही गठबन्धनलाई कायमै राख्ने बताएका हुन् ।
लमजुङको राइनासमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो गठबन्धन चुनावसम्म मात्रै होइन कतिपयले भन्छन् चुनावपछि फेरि अर्कै गठबन्धन बन्छ कि, हुँदैन केही पनि जबसम्म यो देशमा संविधान, लोकतन्त्र र शान्तिमाथि तथा जनताले पाएको अधिकारमाथि चुनौती रहिराख्छ, तबसम्म यो गठबन्धन पनि गइराख्छ । १०, १५, २० वर्षसम्म जाओस् । अब अर्को प्रयोग हुँदैन।’
प्रचण्डले पछि के गर्छ भनेर कतिपयले शंका गर्ने गरेको उनले बताएका छन् । ‘केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेर आएको छु। अब त्यो ज्ञान यताउता हुनेवाला छैन। यही गठबन्धनलाई लिएर जाने हो,’ उनले भने।
उनले आफू र नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सँगसँगै देशका विभिन्न चुनावी सभामा गएको र सत्ता गठबन्धनका पक्षमा विस्तारै जनलहर आइरहेको दाबी गरेका थिए ।