काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९र८० को लागि धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषदको कात्तिक १६ गतेको बैठकले मोटा धान र मध्यम धानको न्यूनतम समर्थन मूल्य तोकेको हो । सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल ३ हजार १२८ रुपैयाँ कायम गरेको छ।
गत आर्थिक वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ७५२ रुपैयाँ र मध्यम धान २ हजार ९०२ रुपैयाँ तोकिएको थियो । गत अर्थिक वर्षको तुलनामा मोटा धानको मूल्य प्रतिक्विन्टल २१५ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल २२६ रुपैयाँ बढेको कृषि तथा पशुपन्छी मन्त्रालयले जानकारी दिएको छ । न्यूनतम समर्थन मूल्य अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट धान खरिद हुने व्यवस्था छ ।
यसैगरी, न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न ३३ करोड बजेट व्यवस्था रहेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाशन गरिने समेत मन्त्रालयले जनाएको छ ।
हाल स्वीकृत कार्यविधि अनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरूलाई ११२ रुपैयाँ प्रतिक्विण्टल व्यवस्थापन खर्च उपलव्ध गराउने व्यवस्था छ ।
गत वर्ष यस कार्यक्रम अनुसार करिब ९ हजार मेट्रिक टन धान खरिद भएको थियो । यस आर्थिक वर्षमा ३ लाख मेट्रिक टन धान खरिदका लागि ३३ करोड रुपैयाँ विनियोजन गरेको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।