Hamro Sanchar

जोरपाटी-नारायणटार क्षेत्रमा डकैती गर्ने ३ जना पक्राउ, को हुन् उनीहरु ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ कात्तिक, १८ गते


Advertisement

काठमाडौं, कात्तिक १८- काठमाडौंको जोरपाटी र नारायणटार क्षेत्रमा लुटपाट गर्ने समूहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक १५ मा गोकर्णेश्वर नगरपालिका–८ स्थित प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर–३ का स्वतन्त्र उम्मेदवार साजेश विष्टको घर चोरी भएको थियो । विष्टको घरबाट १० लाख नगद र ७ तोला सुन चोरी भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

सो चोरीमा संलग्न ३ जनालाई पक्राउ गरिएको प्रहरी वृत्त बौद्धले जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएर गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएका २५ वर्षीय दीर्घ लामा, २४ वर्षीय बाबु तामाङ र २९ वर्षका जिमी लामा छन् ।

सो समूहले कार्तिक ८ मा सुन पसल बन्द गरेर घर फर्किंदै गरेकी ५४ वर्षीया सारदा तिरुवाको झोला र तिलहरी पनि लुटेका थिए । मोटरसाइकलमा सवार उनीहरुले सुनको झुम्का, तिलहरी र नगद १५ हजार लुटेर भागेको अनुसन्धानबाट खुलेको छ ।

आरोपीमध्येका दीर्घ लामा चोरी मुद्दामा २ वर्ष जेल बसेर निस्केका हुन् । २४ वर्षीय बाबु तामाङ १ वर्ष ११ महिना जेल बसेर रिहा भएका थिए । अर्का आरोपी जिमी लामा चोरी मुद्दामा ६ वर्ष ११ महिना जेल बसेर छुटेका हुन् ।

जेलबाट छुट्नासाथ उनीहरूले चोरी र डकैती धन्दा शुरु गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतकहरु बताउँछन् । सो समूहले ३ वर्षअघि ग्रिनहिल सिटीस्थित मन्दिरा सापकोटाको घर फोडेर लुटपाट गरेको पनि प्रहरी वृत्त बौद्धले जनाएको छ । आरोपीहरुको साथबाट प्रहरीले चोरी र डकैतीमा प्रयोग गरिएको प्रदेश–३–०२–०१४ प ७०१५ नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको छ । आरोपीहरुबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

 


प्रतिकृया दिनुहोस्