Hamro Sanchar

बालकृष्ण शिवाकोटीको उद्घोष : समृद्ध दोलखाको योजना साकार पार्नेछु

के-के छन् एजेण्डाहरु ?

प्रकाशित : २०७९ असोज, ३१ गते


Advertisement

दोलखा, असोज ३१- नेकपा एमाले दोलखाको प्रतिनिधिसभाका उम्मेद्वार बालकृष्ण शिवाकोटीले समृद्ध दोलखाको योजना साकार पार्न आफ्नो उम्मेद्वारी भएको बताएका छन् ।

​​​​​​​मेलुङ गाउँपालिकामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै शिवाकोटीले यस्तो बताएका हुन् ।

सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभाका उम्मेद्वार शिवाकोटीले चुनावी प्रचारमा उठाइएका मुद्दालाई कार्यान्वयन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । समृद्ध दोलखा निर्माणका लागि आफू लामो समयदेखि क्रियाशील रहेको बताउदै उनले विजयी भएपछि त्यसलाई साकार पार्ने लक्ष्य रहेको बताए । त्यस्तै, दोलखाको समग्र क्षेत्रको विकासलाई ध्यान दिँदै अधुरा काम सम्पन्न गर्ने, स्थानीय तहसँग समन्वय गरेर स्थानीयस्तरमै समस्या समाधानका लागि कार्ययोजना अगाडि बढाउने योजना रहेको पनि उनले बताए ।

२०२६सालमा सुनखानीमा जन्मिएका शिवाकोटी बुबाको राजनीतिक सामाजिक जीवनबाट प्रेरित भएर विद्यार्थी कालबाट नै अनेरास्ववियुको राजनीतिमा सक्रिय भएका हुन् । क्षमावती माविमा अध्ययनरत गर्दा २०४० मा अनेरास्ववियुको उपाध्यक्षसम्म बनेर काम गरेका थिए । काठमाडौंस्थित नेपाल कमर्श क्याम्पस मीनभवनमा उच्चशिक्षा अध्ययनको लागि भर्ना भएका उनि स्नातक तहसम्मको अध्ययन पूरा गरुन्जेल अनेरास्ववियु प्रारम्भिक कमिटीका विभिन्न पदमा सक्रिय रही राजनीतिक यात्रालाई निरन्तरता दिए । त्यसपछि भूगोलको राजनीतिमा सक्रियता देखाएका शिवाकोटी तत्कालीन इलाका नंबर ९ को सचिव हुँदै २०५६ सालमा क्षेत्रीय कमिटीको सचिव बनेर पार्टी कामको नेतृत्व गरे ।

राजनीतिक यात्रासँगै समाजिक क्षेत्रमा पनि गतिशील शिवाकोटी नेकपा एमाले दोलखाको सचिवालय सदस्यमा निरन्तर १२ बर्ष रहेर पार्टी सञ्चालन तथा विकास निर्माणका कामहरुमा संलग्न भएका थिए । उनि २०६५ मा बुटवलमा सम्पन्न नेकपा एमालेको आठौँ राष्ट्रिय महाधिवेशनका लागि दोलखामा भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएका थिए ।

एमालेको केन्द्रीय उद्योग वाणिज्य विभागको सदस्य हुँदै हाल एमालेको बागमति प्रदेश कमिटीमै काम गरिरहेका छन् । एमालेको दशौँ महाधिवेशन तथा विधान महाधिवेशनमा पनि प्रतिनिधि रहेका शिवाकोटी हाल नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्जसमेत हुन् ।

मदन भण्डारी फाउण्डेनसनको केन्द्रीय सदस्यसहित थुप्रै सामाजिक संघ–संस्थाहरुमा पनि नेतृत्वकारी भूमिकामा रहेका उनि नेपाल सरकार लगानी बोर्डको सदस्यमा तीन कार्यकालसम्म काम गरे । शिवाकोटी मेगा बैंकको सञ्चालक समिति सदस्य पनि हुन् ।

नेपालको धार्मिक, सांस्कृतिक क्षेत्रको विकासमार्फत पयर्टन क्षेत्रको प्रवद्र्धनमा समेत शिवाकोटीले अगुवाका रुपमा भूमिका खेल्दै आएका शिवाकोटी सामाजिक कार्यमा पनि त्यतिकै अग्रसर छन् ।

सफल उद्योगी तथा व्यवसायीको छवी बनाएका शिवाकोटीले आफू आबद्ध दर्जनभन्दा बढी उद्योगहरुमा करिब ४०० भन्दा बढीलाई रोजगार दिलाएका छन् ।

निर्वाचन जितेपछि उनको पहिलो योजना नै जिल्लामा उत्पादनमूलक वातावरण बनाउने र धेरैभन्दा धेरै रोजगारीका अवसर सिर्जना गर्ने रहेको छ । यस्तै दोलखाको वृहत्तर विकासमा सहयोग पुग्ने तामाकोशी ३ आयोजना, चीनसँगको फलाक नाका खोल्ने सडक निर्माण, शैलुङ तथा जिरी पर्यटकीय स्थल निर्माण, फिल्मसिटी तथा खरिढुंगा म्याग्नेसाइट पुनः सञ्चालन जस्ता एजेण्डाहरु नै उनको प्राथमिकतामा रहेका छन् । विगतमा नेकपाको सरकार बीचमै ढल्नाले पूरा गर्न नसकिएका काम यस बर्ष पूरा गरेरै छाड्ने उनको लक्ष रहेको छ ।


प्रतिकृया दिनुहोस्