काठमाडौं, भदौ १४- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले आफूहरूमाथि गरेको विश्वासलाई धोका नदिने बताएका छन् । काभ्रेको भकुण्डेवेशीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले आफू सबै प्रकारका अग्नि परीक्षामा खरो ढंगले उत्रने बताए।
मंसिर ४ मा हुने चुनावबाट ‘नेपाललाई तीन दशकदेखि बन्धक बनाइआएका दलहरू’लाई मुक्त गर्नुपर्ने लिङ्देनले बताए। दलहरूको सिण्डिकेट अन्त्य हुनुपर्ने उनको भनाइ थियो । उनले भ्रष्टाचार अन्त्य हुनुपर्ने पनि बताए ।
‘एक रूपैयाँ भ्रष्टाचार गरेको कसैले प्रमाणित गरे म उसको नोकर भएर बस्न तयार छु,’ उनले भने, ‘थुक्क राप्रपा, राजेन्द्र लिङ्देन यो पनि चोर रहेछ भन्ने मौका तपाईंहरूलाई दिने छैन ।’