
झापा, असार २४- संखुवासभाको खाँदबारी लेगुवा सडकखण्डको चैनपुर १० दुम्कटामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ४३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालका अनुसार दुर्घटनामा शुक्रबार दिउँसो मलामी लिएर पिलुवाखोलाको घाटबाट फर्केको ट्र्याक्टर दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार को २ त ३९६१ नम्बरको ट्र्याक्टरको ‘लोड पिन’ भाँचिएर ट्र्याक्टरको ट्रली पल्टिँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परेर चैनपुर १० बस्ने २४ वर्षीय गंगाबहादुर तामाङ र सोही पालिका वडा नम्बर ९ बस्ने वर्ष ४६ का केशव कार्कीको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका घाइतेमध्ये १५ जनाको तुम्लिङटारस्थित मनकामना अस्पताल, २० जनाको जिल्ला अस्पताल खाँदबारी र अन्य गम्भीर ४ जनालाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
ट्र्याक्टरमा ४५ जना सवार थिए । छ जना सामान्य रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


















