काठमाडौं । बडादसैँको महानवमी पर्वका अवसरमा काठमाडौंको हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ।
वर्षमा एक दिन महानवमीका अवसरमा मात्रै खुल्ने यो मन्दिरमा बिहानैदेखि भक्तजन पूजा तथा दर्शनका लागि पुगिरहेका छन्। मन्दिर बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म खुला रहने दरबार हेरचाह अड्डाले जनाएको छ।
महानवमीका दिन दुर्गा भगवतीको नवौँ स्वरूप माता सिद्धिदात्री र महालक्ष्मीको विशेष पूजा आराधना गरिन्छ। यस दिन दसैँघर, कोत तथा शक्तिपीठमा हातहतियार, कलपुर्जा, मेसिनरी सामग्री र सवारीसाधनको पूजा गर्ने परम्परा छ।
परम्पराअनुसार विभिन्न शक्तिपीठमा पशुबलि दिइन्छ भने शाकाहारीहरूले कुभिन्डो, घिरौँला, मुला, काँक्रो र नरिवल बलि दिएर पूजा गर्ने गर्छन्।
महानवमीसँगै दसैँको धार्मिक र सांस्कृतिक रौनक बढेको छ। तलेजु भवानीको दर्शन गर्न हरेक वर्ष हजारौँ भक्तजन पुग्ने गरेका छन्।































