
काठमाडौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा १७ लाख २९ हजार २८८ नेपाली रहेको जनाउँदै उनीहरूको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाएको छ ।
शनिबार बिहानबाट सुरु भएको अमेरिकारइजरायल र इरानबीचको युद्ध मध्यपूर्वमा विस्तार भएपछि आइतबार पत्रकार सम्मेलन गर्दै परराष्ट्रले त्यहाँ रहेका नेपालीको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको जनाएको हो ।
“मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा छ । यस प्रयोजनको लागि हामीले विभिन्न प्रक्रियाको थालनी गरेका छौँ,” परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा बताए ।
ल्ःद्य द्यबलप
इरानले प्रत्याक्रमणस्वरुप इजरायमालमा मात्र होइन कुवेत, युनाइटेड अरब इमिरेट्स, साउदी अरब, बहराइन, ओमान, कतारलगायतका देशमा रहेका अमेरिकी सैन्य बेसहरूमा आक्रमण गरेपछि ती देशमा कार्यरत नेपालीको सुरक्षा चासो बढेको हो ।
महाशाखा प्रमुख रामकाजी खड्काले मध्यपूर्वमा १७ लाख २९ हजार २८८ नेपाली रहेको बताए । “इरानमा रहेका १० जनामध्ये ४ जना फर्किसक्नु भएको छ । ६ जना हुनुहुन्छ,” उनले भने ।
महाशाखा प्रमुख खड्काका अनुसार, इरानमा ६, इजरायलमा करिब ६ हजार ५००, इजिप्टमा ५००, ओमानमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९१३, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरबमा ३ लाख ८४ हजार ८६५, यूएईमा लगभग ७ लाख, लेबनानमा १ हजार ५००, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली रहेका छन् ।













