
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राजनीति दलहरूको गीत गाएर मात्रै देशको उन्नति नहुने बताएकी छन् । सोमबार सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले देशको विकास र उन्नति प्रमुख कुरा रहेको उल्लेख गरिन् । रातारात सबै कुरा नहुने भन्दै क्रमशः सरकारले काम गरिरहेको बताइन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले अनुसन्धानका लागि पक्राउ गर्ने पनि कानुन हुने बताउँदै मान्छेलाई समाएर टुँडिखेलमा गोली हान्नेकुरा नभएको उल्लेख गरिन् । आफूहरू कानुनका ज्ञाता भएकाले कानुनअनुसार अघि बढ्ने बताइन् ।
उनले भनिन्, सधैँ राजनीति पार्टीको मात्रै गीत गाएर त हुँदैन । उन्नति त देशको हुनुपर्यो नि, विकास त हुनुपर्यो । त्यसैकारण एकै रातारात सबैकुरा पनि हुँदैन । मान्छेलाई पक्रिएर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानुन भनेको । हामी त कानुनका ज्ञाता मान्छेहरू हौँ ।
आफू सरकारमा आइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० वटा मुद्दा दर्ता गरेको र अपराध अनुसन्धान कार्यालयले यसअघि कहिल्यै नगरेको काम गरिरहेको दाबी गरिन् । आज हामी आइसकेपछि ४० वटा जति मुद्दा अख्तियारले दर्ता गरेको छ । सीईबीले काम गरेको गर्यै छ । त्यो काम त कहिल्यै भएको पनि थिएन । यो कुरा पनि मनन गर्नुहोला, उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले देशको लागि सबै मिलेर काम गर्नुपर्ने बताइन् ।


















