
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले पार्टीको ११औँ महाधिवेशनले पनि केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने दाबी गरेका छन् ।
प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा रिमालले एमालेले फेरि पनि ओलीलाई अध्यक्ष बनाउने निष्कर्ष निकालिसकेको बताए । ओली फेरि पनि एमालेको अध्यक्ष हुने कुरा निश्चित भएको भन्दै समाचार लेखेरै राख्न सञ्चारकर्मीहरूलाई आग्रह गरे ।
उपमहासचिव रिमालले पार्टीको महाधिवेशन प्रतिनिधि चयनमा देखिएको गुनासो पार्टीले तत्काल सम्बोधन गर्ने समेत बताए ।
यस्तो छ रिमालको भनाइ
टिममा एक नम्बर व्यक्तिको बारेमा हामीले फाइनल गरिसकेका छौँ । अध्यक्ष केपी ओली हुनुहुन्छ । यो चाहिँ ठहर नै हो । साथीहरूले लेखेरै राख्नु भए पनि हुन्छ । छाप्नु भए पनि हुन्छ, बजाए पनि हुन्छ । २९ गते महाधिवेशन सम्पन्न भइसकेपछि नेकपा (एमाले) को अध्यक्ष को हुन्छ ? भन्दाखेरी केपी शर्मा ओली । यसमा हाजिरी जवाफमा फेलै खाइन्न । पूरै नम्बर आउँछ । त्यो भन्दामुनिमा टिम कसरी भन्दा त्यो डिस्कसको विषय हुन्छ ।

















