
काठमाडौं । जापानको ओत्सुकी शहरका नगरप्रमुख कोबायासी नोबुयासु कागेश्वरी मनोहरा नगरपालिकाको भ्रमणमा आएका छन् । नगरप्रमुख उपेन्द्र कार्कीको निमन्त्रणामा कोबायासीसहित ६ जनाको टोली कागेश्वरीको भ्रमणमा आएको हो ।
ओत्सुकी शहरका प्रमुखलाई नगरप्रमुख कार्की र उपप्रमुख शान्ता थापाले स्वागत गरेका हुन् ।
कागेश्वरी मनोहरा नगरपालिका र जापानको ओत्सुकी शहरबीच गत बर्षको भदौमा भगिनी सम्बन्ध स्थापित भएको छ । भगिनी सम्बन्ध स्थापित भएपछिको नगरप्रमुख कार्की र कोबायासीबीच सोमबार पहिलो पटक औपचारिक भेटवार्ता भएको हो ।
भ्रमणमा एको टोलीले कागेश्वरी मनोहराका प्रशिद्ध तथा पर्यटकीय स्थल गागलफेदीको शहिदपार्क, काठमाडौंकै उत्कृष्ट सामुदायिक विद्यालय सिद्धि गणेश मावि, नगर अस्पतालसहित प्रसिद्ध धार्मिकस्थल नवतनधामको भ्रमण गरेका थिए ।
जापानबाट आएको कोबायासीको टोलीलाई स्वागत गर्दै नगरप्रमुख कार्कीले नेपाल र जापानबीच १ सेप्टेम्वर, १९५६ मा दौत्य सम्बन्ध सुरु भई सद्भावपूर्ण सम्बन्ध, आपसी समझदारी तथा नेपालको पूर्वाधार र विकासका साथै अन्तरराष्ट्रिय मञ्चमा सहकार्य हुँदै आएको बताए । कार्कीले नेपाल र जापानबीचको सम्बन्ध आगामी दिनमा जनस्तरमा प्रगाढ र सुदृढ बन्ने विश्वास व्यक्त गरे । नगर प्रमुख कार्कीले जापानको ओत्सुकी शहरसँग कला, संस्कृति, खेलकुद, पर्यटन र कृषिको माध्यमबाट मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने समझदारी भएको बताए । दुई शहरका बीचमा पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै दुवै पक्षले मैत्रीपूर्ण रुपमा सहयोग आदानप्रदान गरिने बताए ।
उनले अर्थतन्त्र, संस्कृति, कृषि, पशुपालन र पर्यटन लगायतका क्षेत्रमा विभिन्न सहयोग आदानप्रदान पनि हुने उल्लेख गरे ।
ओत्सुकीका प्रमुख कोबायासीले आफ्नो नेपाल भ्रमण पहिलो पटक भएपनि न्यानो स्वागत र माया देखेर खुसी लागेको बताए । उनले जापानको आधुनिक कृषिको टेक्नोलोजी यहाँ भित्र्याउन चाहने र नेपालको कृषिलाई उत्पादनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले दुई सिटीको सम्बन्ध प्रगाढ बनाउन लाग्ने बताए । साथै प्रमुख कोबायासीले नगरप्रमुख कार्कीलाई जापान भ्रमणको निम्ता दिंदै जापानको सबैभन्दा अग्लो अग्लो हिमाल माउन्ट फुजीको अवलोकन गर्न अनुरोध गरेका छन् । उक्त हिमाल ३ हजार ७७६.२४ मिटर उचाइको छ ।






















