
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की अन्तर्राष्ट्रिय संस्था ‘संयुक्त शहरहरू तथा स्थानीय सरकारहरू एसिया–प्रशान्त’ (यूसीएलजी एसप्याक) को परिषद् सदस्यको रूपमा निर्वाचित भएका छन् । कार्की सन् २०२५ देखि २०२७ सम्मका लागि उक्त पदमा निर्वाचित भएका हुन् ।
स्थानीय सरकारहरूको सशक्तिकरणका लागि अन्तर्राष्ट्रिय स्तरमा क्रियाशील यस संस्थाले नगरपालिकालाई पठाएको आधिकारिक पत्रमार्फत नगरप्रमुख कार्कीलाई बधाई ज्ञापन गरेको छ ।
पत्रमा कागेश्वरी मनोहरा नगरपालिकाको अनुभव, दक्षता र दृष्टिकोणले सम्पूर्ण एशिया–प्रशान्त क्षेत्रमा स्थानीय सरकारहरूको सशक्तिकरण तथा सहकार्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
सो पत्रमा महासचिव डा. बर्नाडिया इरावती चान्द्रदेवीले लेखेकी छिन्–“कागेश्वरी मनोहरा नगरपालिका परिषद् सदस्यका रूपमा निर्वाचित हुनु दक्षिण–पश्चिम क्षेत्रका सदस्यहरूले नगरपालिकामाथि गरेको विश्वास र आश्वासनको प्रतीक हो ।”
यूसीएलजी एसप्याक एशिया–प्रशान्त क्षेत्रका नगर तथा स्थानीय सरकारबीच नीति निर्माण, संवाद र दिगो विकासका लागि प्रमुख मञ्च हो । यस संस्थाले स्थानीय सरकारहरूको आवाज अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने र विश्वव्यापी नीति निर्माणमा प्रभाव पार्ने काम गर्दै आएको छ ।
नगरप्रमुख कार्कीको यो चयनले कागेश्वरी मनोहराको अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाउने र नगरका विकास योजनाहरूलाई विश्वव्यापी सञ्जालसँग जोड्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।
यूसीएलजी एसप्याकको दशौँ सम्मेलन हालै दक्षिण कोरियाको गोयाङ विशेष सिटीमा सम्पन्न भएको थियो । यही अवसरमा कागेश्वरी मनोहरा परिषद् सदस्यका रूपमा निर्वाचित भएको हो ।
‘यूसीएलजी एसप्याक’को सदस्य परिषद्मा निर्वाचित भएर नगरप्रमुख कार्कीले यस्ता अवसरहरू प्राप्त गर्न सक्नेछन्-
स्थानीय सरकारको प्रतिनिधित्व : यूसीएलजी एसप्याक मार्फत कार्कीले नेपालको स्थानीय सरकारको प्रतिनिधित्व गर्न र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउन सक्नेछन् ।
नेटवर्किंग : उनले अन्य सदस्य नगरपालिकाहरूसँग नेटवर्क बनाउन र आपसी हितका क्षेत्रहरूमा सहकार्य गर्न सक्नेछन् ।
क्षमता वृद्धि: यूसीएलजी एसप्याकको सदस्यता लिएर कार्कीले स्थानीय सरकारको क्षमता र प्रभावकारिता बढाउनका लागि विभिन्न प्रशिक्षण र कार्यक्रमहरूमा सहभागी हुन सक्नेछन् ।



















