
काठमाडौं । नेकपा एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ ।
आज बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले वडादेखि जिल्ला हुँदै काठमाडौंमा मंसिर ६ गते जनसभा आयोजना गर्ने निर्णय गरेको हो ।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, देशभरका सबै वडामा यही कात्तिक २२ गते जनभेला आयोजना हुनेछ ।
यस्तै , देशभरका पालिकामा कात्तिक २५ गते प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।
ज्ञवालीले दिएको जानकारी अनुसार, कात्तिक २९ गते जनसभा आयोजना गर्ने पनि निर्णय भएको छ
पार्टीको जनपरिचालन गर्ने नीति अनुसार यी कार्यक्रमहरू तय भएको उनले बताए ।
यस्तै एमालेले एघारौं महाधिवेशन हुने स्थान परिवर्तन गरेको छ । यसअघि पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको एमालेले अब काठमाडौंमा महाधिवेशन गर्नेगरी निर्णय लिएको छ ।
ओलीको निवास गुन्डुमा बसेको सचिवालय बैठकले महाधिवेशनस्थल परिवर्तन गर्ने निर्णय गरेको हो ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, मंसिरमा तय भएको महाधिवेशन काठमाडौंमा नै गर्ने निर्णय गरेको हो ।
‘पार्टीको एघारौं महाधिवेशन हामीले दशौं केन्द्रीय कमिटीको बैठकबाट मंसिर २७ देखि २९ सम्म गर्ने निर्णय गरेका थियौं । महाधिवेशनको स्थल भने परिवर्तन गरेको छ । अब पोखराको सट्टामा काठमाडौंमा गर्ने भएको छ,’ उनले भने


















