
काठमाडौं । नेकपा (माओवादी केन्द्र)महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र गम्भीर संकटमा परेको भन्दै हालको समय ‘साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण’ भएको बताएका छन् ।
आज दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने जिम्मेवारी अझै अधुरो रहेको उल्लेख गरे । त्यसनिम्ति सरकारमा हुँदा प्रयास र बाहिर रहँदा राज्यलाई निरन्तर सचेत गराउँदै आएको उनले बताए ।
निराश हुनुपर्ने कारण नभएको बताउँदै उनले नेपालको वर्तमान परिस्थितिलाई ‘समाजवादी क्रान्तिको प्रारम्भिक संकेत’का रूपमा व्याख्या गरे । “२३ र २४ का घटनाक्रमले देखाएको छ, क्रान्ति अब टाढा छैन, बरु नजिक आएको छ,” उनले भने, “जनताको असन्तुष्टि र आक्रोश सही ढंगले संगठित गर्न सके समाजवादी क्रान्ति छोटो समयमै सम्भव छ ।”
हरेक नेतृत्वले आश्वासन दिने तर परिणाम ढिलो हुँदा सहिद परिवारमा आक्रोश आउनु स्वाभाविक भएको उनले बताए । “हाम्रो निरन्तरको प्रयासमा सहिद घोषणा, विधेयक निर्माण र आयोग गठन भएका छन् । तर, ती आयोगहरूले अपेक्षित परिणाम दिन सकेका छैनन्,” उनले भने ।
प्रचण्डले वर्तमान अवस्थालाई ‘राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता’माथिको गम्भीर चुनौतीका रूपमा चित्रण गरे । “हामी अहिले साम्राज्यवादसँग सिधै आमनेसामने छौँ । अब प्रश्न छ– समाजवादी क्रान्तिले साम्राज्यवादलाई रोक्ने हो कि साम्राज्यवादले नै हाम्रो स्वाधीनता निल्ने हो,” उनले भने ।
उनले देशभक्त, वामपन्थी र क्रान्तिकारी सबै शक्तिलाई राष्ट्रिय स्वाधीनता र समाजवादी क्रान्तिको रक्षाका निम्ति एउटै मोर्चामा उभिन आह्वान समेत गरे ।
गणतन्त्रपछिका नेतृत्वले जनताको अपेक्षाअनुसार काम गर्न नसक्दा जनआक्रोश बढेको उनले टिप्पणी गरे । “भ्रष्टाचारविरुद्ध सडकमा निस्केका युवाहरूले राजनीतिबाट टाढा भनिएका पुस्तालाई पुनः राजनीतिक रूपमा सचेत बनाएका छन्,” उनले भने, “उनीहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्टाचारविरोधी अभियान र अभिव्यक्ति स्वतन्त्रताको मुद्दा उठाएका छन् । यी युवाहरू नै क्रान्तिकारीका उत्तराधिकारी हुन् ।”
एकता र समाजवादी क्रान्तिको तयारीकै माध्यमबाट संकट पार गर्न सकिने उनको भनाइ थियो । “अब प्रतिक्रान्तिको भयानक खतरा देखिँदै छ। त्यसलाई परास्त गर्न जनताको तागत र एकता अपरिहार्य छ,” उनले भने, “क्रान्ति कहिल्यै सहज हुँदैन, प्रतिक्रान्तिको सामना गर्दै अघि बढ्नु नै यसको नियम हो ।


















